NM Khabar 4 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेशमा गोली होइन लाठी र अश्रुग्यास प्रयोग गरियोस्: सांसद सिंह

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मधेशमा घटना हुनेबित्तिकै गोली चलाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। उनले राज्यले प्रहरीलाई लाठी र अश्रुग्यासको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। मधेशलाई पछि पार्ने र गरिब बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।
Kamala Devi
Kamala Devi
4 August 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
मधेशमा गोली प्रयोग
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा कुनै घटना हुनासाथ प्रहरीले सिधै गोली चलाउने गरेको भन्दै राज्यसँग प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यले प्रहरीलाई गोलीगठ्ठामा लगानी गर्नुभन्दा लाठी र अश्रुग्यासमा किन लगानी नगरेको भनी प्रश्न गरेका हुन्।

‘मेरो प्रश्न राज्यसँग छ, मधेशमा जहिले पनि केही समुदायको आन्दोलन हुँदा गोली मात्रै किन चल्छ? लाठी किन चल्दैन? टियरग्यास किन चल्दैन?’ उनले भने। प्रहरीलाई कसैले ढुंगा हान्यो भने उसले गोली हान्ने गरेको तर त्यसका लागि आवश्यक अश्रुग्यास र लाठी नभएको कारणले यस्तो भएको उनको भनाइ छ।

सांसद सिंहले मधेशलाई पछि पार्ने, गरिब बनाउने र केही भयो भने गोली चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए। ‘सरकारसँग आग्रह गर्न चाहन्छु, टियरग्यास र लाठिको व्यवस्था गरोस्। मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र केही भयो भने गोली ठोक्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। किनभने मधेशले धेरै सहन सक्दैन,’ उनले भने।

उनले मधेशमा सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रहरीसँग लाठी वा टियर ग्याँस नभएको वा त्यसको प्रयोग गर्ने तालिमको कमी भएको हो कि भन्ने प्रश्न गरेका थिए।

यस्तै, उनले नेपाली सेना मधेसमा प्रवेश गर्नेबित्तिकै मधेसी नागरिकले नेपाली सेनामा आफ्नो अनुहार नदेख्ने र देशकै सेनालाई विदेशी सेनाको रुपमा बुझ्ने मनोविज्ञानलाई अन्त्य गर्नुपर्ने पनि बताए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार