सिरहाको गोलबजारमा आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको घटना छानबिन गर्न गृह मन्त्रालयको उच्चस्तरीय टोलीले घटनास्थल पुगेर सरोकारवाला पक्षसँग छलफल सुरु गरेको छ। सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनाको सत्यतथ्य पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
छानबिन टोलीले गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक आयोजना गरी राजनीतिक दलका प्रतिनिधिहरूसँग घटनाबारे जानकारी लिएको छ। उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहको उपस्थितिमा स्थानीय व्यवसायीहरूसँग छलफल गर्दै आन्दोलनका क्रममा भएका क्षति, घटनाको पृष्ठभूमि र उनीहरूका गुनासा सुनेको छ। मुस्लिम समुदायका प्रतिनिधिहरूसँग छुट्टै बैठक गरी घटनाको कारण, प्रभाव र सामाजिक सद्भाव कायम गर्ने उपायबारे छलफल गरिएको छ।
समितिका सदस्यसचिव कुलशेखर अर्यालका अनुसार, टोलीले ‘सुनसरीमा सुरु भएको घटना कसरी गोलबजारसम्म फैलियो?’, ‘आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो?’ र ‘गणेश यादवको मृत्यु कसरी भयो?’ भन्ने प्रश्नलाई प्राथमिकतामा राखेर छानबिन गरिरहेको छ। घटनाको सत्यतथ्य उजागर गरी प्रतिवेदन मन्त्रालयमा पेस गरिने अर्यालले बताए।
टोलीले सोमबार घटनास्थलको अनुगमन गर्नुका साथै सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग पनि छलफल गरेको थियो। आन्दोलनका क्रममा व्यवसायीको भौतिक संरचना र सम्पत्तिमा भएको क्षतिको विवरण भने स्थानीय प्रशासनले संकलन गरिरहेको छ।
गृह मन्त्रालयका सहसचिव शाहीको संयोजकत्वमा गठित यस उच्चस्तरीय छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक मोहनकुमार थापा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारी, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक पवन ढुंगाना र उपसचिव अर्याल सदस्यसचिव रहेका छन्।
गत साउन १४ गते सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर सिरहाको औरही गाउँपालिकाका गणेश यादवको मृत्यु भएको थियो। घटनापछि गृहमन्त्री सुधन गुरुङले मृतक यादवको परिवारलाई भेटेर निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको प्रतिबद्धता व्यक्त गरेका थिए।
