कोशी प्रदेशकै सुविधासम्पन्न धनकुटा जिल्ला अस्पताल भौतिक पूर्वाधार अभावले थलिएको छ। पुरानो र जीर्ण भवनका कारण अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको छ।
दैनिक ३०० देखि ४०० बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको अस्पतालमा हाल ६ जना विशेषज्ञ चिकित्सक, ४ जना मेडिकल अधिकृत, २ जना सेन्ट्रल अफिसर र २० जना नर्स कार्यरत छन्। अस्पतालले मिर्गौलारोगीका लागि डायलाइसिस सेवा पनि सुरु गरेको छ। अस्पतालमा आउने बिरामीमध्ये झन्डै ७० प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुने गरेका छन्।
अस्पतालका प्रमुख डा. सन्तोष राईका अनुसार, गुणस्तरीय र छिटो सेवा प्रदान गर्न तथा विशेषज्ञ जनशक्ति टिकाउन निर्माणाधीन भवनको काम छिटो सम्पन्न हुनुपर्नेछ।
सरकारले धनकुटा नगरपालिका–५ मा रु २८ करोड लागतमा अस्पतालका लागि चारतले नयाँ भवन निर्माण गरिरहेको छ। पूर्वाधार विकास कार्यालय धनकुटाका प्रमुख रमेश खरेलले उक्त भवनको हालसम्म ४० प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी दिए।
कोशी प्रदेशसभा सदस्य निरन राईले अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गरिनुपर्ने बताए। यसले त्यस क्षेत्रको बसाइँसराइ रोक्न पनि मद्दत पुग्ने उनको भनाइ छ। पूर्वसांसद लीला श्रेष्ठले पनि जनताको माग र आवश्यकता पूरा गर्न अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गरिनुपर्नेमा जोड दिएकी छन्।
