सुनसरी र सिराहा घटनामा मृत्यु भएका चार जनालाई सरकारले सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्यो।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सहिद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादव छन्।
मन्त्रिपरिषद्ले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शववाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण छुट दिने निर्णय गर्यो।
बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दियो। वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेती नियुक्त भए।
पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि सरकारले गर्यो।
