कोशी प्रदेश सरकारका कांग्रेस कोटाका चार मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्। केन्द्रमा विकसित राजनीतिक समीकरणका कारण कांग्रेसले प्रदेश सरकार छाड्ने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामा बुझाउनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू छन्। भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले पनि पद त्यागेकी छन्।
उनीहरूले बुधबार बसेको मन्त्रिपरिषद् बैठक सकिएपछि मुख्यमन्त्री कार्कीलाई संयुक्तरूपमा राजीनामा बुझाएका हुन्। केन्द्रमा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन गर्न साउन दोस्रो हप्तामा तीन बुँदे सहमति भएको थियो। सोही सहमतिका आधारमा कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो।
यसअघि २०८१ भदौ २८ गते एमाले र कांग्रेसबीचको सहमतिबमोजिम कांग्रेस कोसी सरकारमा सहभागी भएको थियो। २०८२ पुस २२ गते मन्त्रिपरिषद् पुनर्गठन हुँदा यी मन्त्रीहरू नियुक्त भएका थिए।
