गत आर्थिक वर्ष २०८२/०८३ मा देशभरबाट साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा उजुरी परेका छन्। यो संख्या विगतका वर्षहरूको तुलनामा ह्वात्तै बढेको हो।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग गरी हुने ठगी, चरित्रहत्या र अनलाइन स्क्यामिङका घटनामा वृद्धि भएको छ। यस अवधिमा ब्यूरोले १६१ वटा मुद्दा दर्ता गरी १५५ जना अभियुक्तलाई पक्राउ गरेको छ।
दर्ता भएका निवेदनहरूमध्ये सबैभन्दा बढी फेसबुक/म्यासेन्जर दुरुपयोगका ७ हजार १२३ वटा र टिकटकका ६ हजार ७७६ वटा उजुरी रहेका छन्। यस्तै ह्वाट्सएपका ३ हजार १०५, टेलिग्रामका १ हजार ३१, इसेवा/खल्ती/बैंक खाता दुरुपयोगका ७४४ र संस्थागततर्फ ८४६ वटा उजुरी परेका थिए।
यसअघि आर्थिक वर्ष २०८१/०८२ मा १८ हजार ९२६ र आव २०८०/०८१ मा १९ हजार ७३० वटा उजुरी दर्ता भएका थिए।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले बैंक तथा वालेटका प्रतिनिधि बनेर, पार्सल वा लोटरी परेको प्रलोभन देखाएर, वैदेशिक रोजगारी वा अनलाइन जबका नाममा ठगी गर्ने प्रवृत्ति व्यापक बनेको बताए।
ब्यूरोले प्रविधिको प्रयोग गरी हुने यस्ता अपराधमा संलग्नहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कानुनी दायरामा ल्याउँदै आएको छ। इमेलमार्फत महिलाको चरित्रहत्या गर्ने सुरेन्द्रप्रसाद खनाल, फेसबुक ह्याक गरी ठगी गर्ने विवेक सुनार र इसेवा कर्मचारी बनेर ठगी गर्ने शुभम साह जस्ता अभियुक्तहरू हालै पक्राउ परेका छन्।
ब्यूरोले आम नागरिकलाई अनलाइन कारोबार र सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन आग्रह गरेको छ।
