पूर्वमुख्यसचिव वैरागीद्वारा एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन नमिल्नेमा जोड
परराष्ट्र मामिलाका विज्ञ तथा पूर्वमुख्यसचिव शंकरदास वैरागीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामरिक रूपमा जोडिन नमिल्ने बताएका छन्। शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले रणनीतिक र सामूहिक कुरामा जोडिन नमिल्ने भएकै कारण तत्कालीन सरकारले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको बताए। नेपालको परराष्ट्र नीति र संविधानले तोकेको सीमाभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्न नसकिने उल्लेख गर्दै उनले एसपीपीमा सहभागी हुँदा नेपाल सामरिक पक्षबाट जोडिएको देखिने वा नदेखिने विषयको विश्लेषण हुन आवश्यक रहेको समेत बताए।
नेपालले पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति अँगालेको भन्दै उनले कुनै पनि महाशक्ति राष्ट्रका सामरिक वा सैन्य सञ्जालमा जोडिनु त्यसको सिद्धान्तविपरीत हुने बताए।
पूर्वमुख्यसचिव वैरागीले भने, ‘त्यो वेला एसपीपीको बारेमा चर्कै कुरा उठेको हो। हाम्रो चासो रणनीतिक सामूहिक कुरामा हामी जोडिनु हुन्न भन्ने नै हो। त्यसकारण यो प्रक्रिया अघि नबढाउने भन्ने आधिकारिक निर्णय भएको छ र सरकार यसबाट पछि हटेको हो।’
नेपाल सरकारले २०७९ असारमा एसपीपी अगाडि नबढाउने र सहभागी नहुने औपचारिक निर्णय गर्दै कार्यान्वयनका लागि अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो।
