कोशी प्रदेशमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँडको विवाद शुक्रबार टुंगिएको छ। दुई दलबीचको सहमतिपछि सोमबारसम्म सरकार विस्तार हुने भएको छ।
सरकारमा सहभागी हुन नेकपाले मागेबमोजिम मन्त्रालय दिन एमाले सहमत भएपछि विवाद समाधान भएको हो। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोका अनुसार शुक्रबार बसेको बैठकले मन्त्रालयको संख्या टुंगो लगाएको छ।
एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय पाउनेछ। नेकपाले ४ वटा मन्त्रालय लिनेछ। मन्त्रालयको संख्या टुंगो लागे पनि कुन दलले कुन मन्त्रालय लिने भन्ने विषय भने अझै टुंगो लाग्न बाँकी छ।
आङ्वोले मन्त्रालयको विषय पनि चाँडै टुंगो लाग्ने विश्वास व्यक्त गरे। शुक्रबारको बैठकले मन्त्रालयको संख्या टुंगो लगाएर सोमबारसम्म सरकार विस्तार गर्ने समझदारी गरेको छ।
नेकपाले लिने मन्त्रालय र मन्त्रीको टुंगो लगाउन शनिबार नेकपा संसदीय दलको बैठक बस्ने नेकपा संसदीय दलकी सचेतक सपना दर्जीले जानकारी दिइन्।
