NM Khabar 18 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

खुला सीमा बन्द गर्ने प्रस्तावको डा. झाले गरे कडा प्रतिवाद, व्यवस्थापनमा जोड

• डा. राजीव झाले नेपाल–भारत खुला सीमा बन्द गरी भिसा प्रणाली लागू गर्ने हर्क साम्पाङको प्रस्तावको कडा प्रतिवाद गरेका छन्। • उनले सीमा बन्द गर्नुलाई 'रोगको उपचार गर्नुको सट्टा बिरामीलाई नै मारिदिने सोच' को संज्ञा दिएका छन्। • डा. झाले तस्करी र सुरक्षा चुनौती नियन्त्रणका लागि सीमा बन्द होइन, 'स्मार्ट, प्रविधिमैत्री र सुरक्षित सीमा व्यवस्थापन' मा जोड दिएका छन्।
Sarita Pandey
Sarita Pandey
18 August 2026, 5:19 am १ मिनेट पढाइ
आकार:
खुला सीमा व्यवस्थापन
Share:

नेपाल–भारत खुला सीमालाई बन्द गरी भिसा प्रणाली लागू गर्नुपर्ने भनी हालै संसद्मा उठेको प्रस्तावको नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झाले कडा प्रतिवाद गरेका छन्। उनले उक्त प्रस्तावलाई ‘सतही र केवल सस्तो ताली पाउने नियतबाट प्रेरित’ भन्दै सीमा बन्द गर्नुको सट्टा व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा राखेको यो प्रस्तावप्रति टिप्पणी गर्दै डा. झाले सीमा क्षेत्रमा देखिने सुरक्षा चुनौती र अव्यवस्थालाई देखाएर सिमाना नै बन्द गर्ने कुरा गर्नु ‘रोगको उपचार गर्नुको सट्टा बिरामीलाई नै मारिदिने सोच’ सरह भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. झाले नेपाल र भारतबीचको सम्बन्ध केवल भूगोलमा मात्र सीमित नभई सदियौंदेखिको ‘रोटी–बेटी’ तथा पशुपति–काशीको गहिरो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराए। उनले यस्तो ऐतिहासिक र जनस्तरको सम्बन्धलाई कुनै भिसाको कागजले छेक्न नसक्ने स्पष्ट पारे।

डा. झाका अनुसार सीमामा हुने तस्करी, अवैध कारोबार र सुरक्षा चुनौती नियन्त्रणका लागि सीमा सिल गर्नुको सट्टा ‘स्मार्ट, प्रविधिमैत्री र सुरक्षित सीमा व्यवस्थापन’ आजको मुख्य आवश्यकता हो।

उनले संसद् र नीतिगत तहमा देशमै उद्योगधन्दा कसरी सञ्चालन गर्ने, स्वदेशमै रोजगारी कसरी सिर्जना गर्ने र १ अर्ब २५ करोडभन्दा बढी जनसंख्या भएको विशाल भारतीय बजारमा नेपाली उत्पादन कसरी पुर्‍याउने भन्ने विषयमा गम्भीर बहस हुनुपर्ने तर्क प्रस्तुत गरे।

चर्चा र सस्तो लोकप्रियताका लागि उत्तेजक अभिव्यक्ति दिनुभन्दा परिणाममुखी काममा लाग्न आग्रह गर्दै डा. झाले भने, ‘विवाद होइन, विकासको बहस गरौं। खुला सीमा नेपालका लागि कमजोरी होइन, सही व्यवस्थापन गर्न सके ठूलो आर्थिक र सामाजिक अवसर हो।’

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार