नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत भ्रमणमा रहेका जापानी रक्षामन्त्री शिन्जिरो कोइजुमीबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको रक्षा र सुरक्षा सम्बन्धलाई अझ प्रगाढ बनाउने र द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विषयमा गहिरो छलफल भएको छ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जापानी रक्षामन्त्री कोइजुमीलाई स्वागत गर्दै भारत र जापानबीचको रक्षा र सुरक्षा सम्बन्धलाई गहिरो बनाउने विषयमा उत्कृष्ट कुराकानी भएको बताएका छन्। उनले विशेष रणनीतिक र विश्वव्यापी साझेदारी इन्डो-प्यासिफिक र त्यसभन्दा बाहिरको शान्ति, स्थिरता र समृद्धिका लागि महत्त्वपूर्ण आधार भएको उल्लेख गरे।
दुई दिने भ्रमणमा रहेका रक्षामन्त्री कोइजुमीले बुधबार मुम्बईस्थित पश्चिमी नौसेना कमाण्डको निरीक्षण गरेका थिए। बिहीबार उनले आफ्ना भारतीय समकक्षी राजनाथ सिंहसँग पनि द्विपक्षीय वार्ता गरेका छन्।
वार्तापछि भारत र जापानका रक्षा मन्त्रालयबीच सामुद्रिक सुरक्षा सहयोगसम्बन्धी महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले दुई देशका नौसेनाबीचको सहकार्यलाई थप मजबुत बनाउनेछ। विशेषगरी सामुद्रिक डोमेन जागरूकता (MDA) मा सूचना आदानप्रदान गर्न र मानवीय सहायता तथा प्रकोप राहत (HADR) जस्ता विषयमा यो सम्झौता कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ।
पछिल्लो समय इन्डो-प्यासिफिक क्षेत्रको सुरक्षा वातावरणमा चीनको बढ्दो प्रभावलाई मध्यनजर गर्दै यो उच्चस्तरीय सैन्य संवादलाई निकै अर्थपूर्ण मानिएको छ। रक्षामन्त्री कोइजुमीले भारतलाई ‘विश्वसनीय साझेदार’ को रूपमा उल्लेख गर्दै रक्षा सम्बन्धलाई अझै माथि उकास्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
यसअघि गत जुलाईमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले भारत भ्रमण गरेकी थिइन्। उक्त भ्रमणका क्रममा कृत्रिम बुद्धिमत्ता (AI), रक्षा र स्वच्छ ऊर्जाका क्षेत्रमा १० अर्ब अमेरिकी डलरभन्दा बढीको लगानी प्रवर्द्धन गर्ने सम्झौता भएको थियो। भारत र जापान दुवैले स्वतन्त्र, खुला र समृद्ध इन्डो-प्यासिफिक क्षेत्र निर्माण गर्ने साझा दृष्टिकोण राख्दै आएका छन् र यो पछिल्लो भ्रमणले त्यसलाई थप ऊर्जा प्रदान गरेको छ।
