सन् २०१८ मा नेपालमा आयोजित ‘एसिया प्यासिफिक समिट’ को क्रममा ‘होली वाइन’ प्रकरणमा जोडिएकी युनिफिकेशन चर्चकी प्रमुख हाक जा हानलाई दक्षिण कोरियाको अदालतले सोमबार २ वर्षको जेल सजाय सुनाएको छ। ८३ वर्षीया हानलाई प्रथम महिलालाई महँगा गहना र ‘च्यानेल’ ब्यागजस्ता उपहार दिएर राजनीतिक प्रभाव बढाउन खोजेको अभियोगमा दोषी ठहर गरिएको हो।
नेपालमा यो कार्यक्रमको सफलताका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चार दिनसम्म होटल सोल्टीमै बसेर प्रत्यक्ष निगरानी गरेको स्रोतले जनाएको छ। यसका अतिरिक्त, मन्त्रिपरिषद्को स्वीकृतिबिनै ओलीले ‘मदर मुन’ उपनामले चिनिने हाक जा हानको संस्थाबाट १ लाख डलरको ‘नेतृत्व पुरस्कार’ समेत ग्रहण गरेको बताइएको छ।
दक्षिण कोरियामा घुसको आरोपमा ‘माता’ ले सजाय पाएको अवस्थामा, धर्मको आवरणमा राज्यसत्ताको दुरुपयोग गर्ने र आर्थिक लाभ लिने नेपाली नेताहरूले कहिले कानुनी कारबाहीको सामना गर्नेछन् भन्ने प्रश्न उठेको छ।
जनताले अब नेताहरूले लिएको त्यो ‘होली वाइन’ र १ लाख डलरको हिसाबकिताब माग्ने समय आएको छ कि छैन भन्ने बहस सुरु भएको छ।
