सुनसरीका किसान अहिले नगदे बाली जुटको व्यवस्थापनमा व्यस्त छन्। एक महिनायता जुट काट्ने, गलाउने, केलाउने, सुकाउने र बजार पुर्याउने काममा उनीहरूलाई भ्याइनभ्याइ छ।
पानीबाट निकालेपछि जुट र सन्ठी केलाएर छुट्याइन्छ। सुकाएपछिको जुट बिक्रीयोग्य हुन्छ। सन्ठी दाउराको विकल्प वा गुइँठा बनाउन प्रयोग हुन्छ। यसबाहेक घेराबेरामा पनि सन्ठी उपयोगी छ।
नेपालमा जुट खेती गर्मी र वर्षायाममा हुन्छ। यसका लागि तातो, आर्द्र हावापानी र पर्याप्त वर्षा चाहिन्छ। खेती प्रायः तराई क्षेत्रमा हुन्छ। चैत–वैशाखमा रोपिएको जुट जेठ–असारमा बढ्छ। साउन–भदौमा कटाइ र उत्पादन गरिन्छ।
भोक्राहा नरसिंह गाउँपालिका–२, सुनसरीका किसान रसिद मियाँ जुट केलाउन व्यस्त छन्। ‘जुट काटेर १५ दिन पानीमा डुबाएपछि केलाउन तयार हुन्छ। पाँच जना मजदुरलाई केलाउन दुई दिन लाग्यो,’ उनले सुनाए। उनले पाँच कट्ठामा जुट लगाएका थिए।
सोही वडाका रञ्जीत मेहताले १० कट्ठा, चन्दन मेहताले १४ कट्ठा र जगदीश मेहताले ४ कट्ठा जमिनमा जुटखेती गरेका छन्। यहाँ धेरै किसानले ५ देखि १२ कट्ठासम्म जुट लगाउँछन्।
नगदे बाली भए पनि लगानी सोहीअनुसार हुने रञ्जित मेहता बताउँछन्। ‘पाँच कट्ठामा जुट लगाउँदा ५० हजार रुपैयाँ खर्च हुन्छ। कामदार समस्या छ। खानासहित दिनको १२ सय रुपैयाँ पर्छ,’ उनले भने।
स्थानीय बजारमा ४० केजी जुट ६ हजार रुपैयाँमा बिक्री भइरहेको छ। जुट केलाएको थाहा पाएपछि व्यापारी घरमै लिन आउँछन्।
कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार भोक्राहा नरसिंह, कोसी, हरिनगर, गढी, बर्जु, देवानगन्ज गाउँपालिका, दुहवी नगरपालिका र इनरुवा नगरपालिकामा जुट खेती बढी हुन्छ।
केन्द्रका सूचना अधिकृत प्रवीण श्रेष्ठका अनुसार गत वर्ष सुनसरीमा १ हजार ३०८ हेक्टरमा जुट खेतीबाट २ हजार १० मेट्रिक टन उत्पादन भएको थियो। यस वर्ष १ हजार ३३४ हेक्टरमा खेती गरिएकोमा २ हजार ८१ मेट्रिक टन उत्पादन भएको छ।
पूर्वी तराईका झापा, मोरङ र सुनसरीको उत्पादनले जुट उद्योगलाई कच्चापदार्थ पुग्दैन। जुट उद्योगीहरू बंगलादेश र भारतबाट जुट आयात गर्छन्।
किसानले केही वर्षयता जुटको राम्रो मूल्य पाइरहेका छन्। मूल्य बढ्दै जाने हो भने किसानले खेतीको क्षेत्रफल बढाउने र उत्पादन वृद्धि हुने श्रेष्ठको भनाइ छ। उनले एक/दुई वर्षमा जुट खेती विस्तार भए नेपाल जुटमा आत्मनिर्भर हुने बताए।
