नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट (सिरिज २०२५) प्रचलनमा ल्याएको छ। साविककै आकारमा यसको रङ संयोजन परिमार्जन गरी पर्पल (बैजनी) रङको घेराभित्र फिक्का हरियो देखिने गरी नयाँ नोट तयार पारिएको छ।
केन्द्रीय बैंकका अनुसार यो नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नयाँ नोट सङ्केत नम्बर ट/९२ ०००००१ देखि त/५० ९९९९९९ सम्म जारी गरिएको छ।
यसअघि २०७७ साउन ३ गतेदेखि चलनचल्तीमा ल्याइएको रु. १००० दर (सिरिज २०१९) को बैंकनोट संकेत नम्बर ज/६८ ०००००१ देखि ट/५१ ४४०००० सम्म जारी गरिएको थियो। त्यसपछिको संकेत नम्बर ट/५२ ०००००१ बाट नयाँ सिरिज २०२५ को नोट निष्कासन सुरु गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
नयाँ नोटको अगाडिपट्टीको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रूपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ’ भन्ने वाक्य उल्लेख गरिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ। सो पानीछापमुनि १००० अंकित पानीछाप समेत रहेको छ।
दृष्टिविहीन व्यक्तिहरूले छोएरै नोट पहिचान गर्न सहज होस् भन्ने हेतुले दायाँतर्फको तल्लो भागमा रोमन अक्षर M राखिएको छ। साथै, सगरमाथा हिमालको बायाँ र पानीछापको दायाँतर्फ १०/१० वटा तेर्सा रेखाहरू रहेका छन्।
नोटको पृष्ठ भागको मध्य खण्डमा चितवनस्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेको ‘देवकली’ नामक हात्तीबाट जन्मेका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ र सोको माथि NEPAL RASTRA BANK लेखिएको छ। पानीछापको दायाँतर्फ नेपालका सातै वटा प्रदेशहरूलाई जनाउने गरी सातवटा लालीगुराँसको चित्र प्रयोग गरिएको छ।
