NM Khabar 27 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवा सडक अवरुद्ध: खाद्यान्न संकट, किसान र बिरामीको बिचल्ली

भोटेकोशी बाढीले रसुवाको सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध हुँदा खाद्यान्न संकट गहिरिएको छ। सडक नहुँदा व्यवसायीहरू मर्कामा परेका छन्, किसानले उत्पादन बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिएको छ। जटिल बिरामीलाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ, जसले विपन्नलाई थप समस्यामा पारेको छ।
Kamala Devi
Kamala Devi
26 September 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
रसुवा खाद्यान्न अभाव
Share:

भोटेकोशी बाढीले चीनसँग सीमा जोडिएको रसुवाको सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ। यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न संकट गहिरिएको छ। स्थानीय कृषक र व्यवसायीहरू ठूलो आर्थिक मारमा परेका छन्।

बाढी गएको एक महिना बितिसक्दा पनि यातायात सञ्चालनमा आउन सकेको छैन। रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको चरम अभाव छ। रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङ भन्छन्, ‘सडक नहुँदा सामान ल्याउनै सकिँदैन। ढुवानी खर्च मात्रै प्रतिपटक रु ५० हजारभन्दा बढी लाग्छ।’ उनले सरकारले राहतभन्दा सडक सञ्जाल तत्काल जोडिदिए व्यापारी र उपभोक्ता दुवैलाई सहज हुने बताए।

अर्का व्यवसायी सुन्दर श्रेष्ठको अनुभव पनि उस्तै छ। भौगोलिक रूपमा विकट यस क्षेत्रका किसानहरूले वर्षभरिको मेहनतले लगाएको बन्दाकोपी (काउली) समेत बजारसम्म पुर्याउन सकेका छैनन्। गतलाङमा फलेको लाखौँ मूल्य बराबरको बन्दाकोपी बारीमै कुहिएको छ।

गतलाङका स्थानीय फुर्पु सिङ्गी तामाङले राहतले केही महिना मात्रै धानिने बताए। ‘कृषि उपज बजारमा लैजान नपाउँदा लगानी डुब्यो। राहतभन्दा सडक सञ्जाल सञ्चालनमा ल्याउन प्राथमिकता दिनुपर्छ,’ उनले भने।

सडक सञ्जाल विच्छेद हुँदा स्वास्थ्य क्षेत्रमा गम्भीर समस्या देखिएको छ। जटिल बिरामीलाई अस्पताल लैजान सडक नहुँदा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन। रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार गरिब तथा विपन्न नागरिकका लागि हेलिकप्टरको खर्च धान्न असम्भवप्रायः छ।

‘पैसा हुनेहरू हेलिकप्टरमार्फत काठमाडौँ जान्छन्, तर पैसा नहुने गरिब गाउँमै मर्नुपर्ने अवस्था छ। जति सक्दो चाँडो सडक खुलाउनुको विकल्प छैन,’ तामाङले भने।

दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सडक सञ्जाल पुनः जोड्न नुवाकोट र अन्य क्षेत्रबाट एस्काभेटर (डोजर) ल्याएर काम भइरहेको छ।

प्रजिअ पाण्डेले भने, ‘डाइभर्सन तथा पुल बनाउन केही समय लाग्ने देखिएको छ। निरन्तरको वर्षाका कारण काममा ढिलाइ भए पनि स्थानीय प्रशासनको समन्वयमा सडक खुलाउन तीव्र काम भइरहेको छ।’

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार