नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै १५औं महाधिवेशनको तयारी तीव्र पार्दै क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ। समानान्तर रूपमा महाधिवेशनको तयारी गरिरहेको देउवा समूहले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोख्रेललाई विवरण बुझाए।
समूहका अनुसार नवीकरण गरिएका क्रियाशील सदस्यता सात लाख ८३ हजार ८३६ छन्। पाँच लाख ७३ हजार २६९ पुराना सदस्य नवीकरण भएका छन्। दुई लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता थपिएको छ। पौडेलले शनिबारदेखि नयाँ क्रियाशील सदस्यता अनलाइनमार्फत वितरण गर्ने तयारी रहेको बताए।
देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५औं केन्द्रीय महाधिवेशन तयारी समिति गठन गरी छुट्टै अधिवेशनको आयोजना प्रक्रिया अघि बढाएको छ। विभिन्न जिल्लामा महाधिवेशन संयोजकहरू पनि तोकिएका छन्।
संयोजक कोइरालाले आफूहरू ‘नयाँ जोश’का साथ १५औं महाधिवेशनमा अघि बढेको बताए। कांग्रेसजस्तो पुरानो पार्टीले नयाँ सोच र उत्साहका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
महाधिवेशन सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको कोइरालाले उल्लेख गरे। वर्तमान समय आफूहरूका लागि परीक्षाको घडी भएको उनले बताए। आफूहरू महाधिवेशन तयारीमा गम्भीर रहेको र सबैलाई साथ लिएर अघि बढ्न चाहेको उनले स्पष्ट पारे।
