सीमापार अपराध नियन्त्रण र सुरक्षा सुदृढीकरणका लागि सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूबीच जोगबनीस्थित सीमा नियन्त्रण चौकी (बीसीपी) मा बैठक बसेको छ। ५६औं वाहिनी सशस्त्र सीमा बल बथनाहाका द्वितीय कमान अधिकारी नितिन कुमार गुप्ताको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।
नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्र कुमार भण्डारीले गरेका थिए। टोलीमा डीएसपी सूर्यप्रकाश शर्मा, निरीक्षक गणेश मल र धीरज मल सहभागी थिए। भारतीय पक्षबाट अध्यक्ष गुप्तासहित द्वितीय कमान अधिकारी प्रवीण कुमार र निरीक्षक हरेन्द्र सिंह उपस्थित थिए।
बैठकमा सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र कानुन व्यवस्था कायम राख्न संयुक्त गस्तीलाई प्रभावकारी बनाउने सहमति भएको छ। सीमा सुरक्षा मजबुत पार्न अपराध नियन्त्रण, आपराधिक तत्वमाथि रोक र तस्करी नियन्त्रणका लागि गुप्तचर सूचना आदानप्रदान गर्ने निर्णय गरियो।
सीमा क्षेत्रबाट हुने मानव बेचबिखन तथा ओसारपसार रोक्न कडा सतर्कता अपनाउने र दशगजा क्षेत्रमा अतिक्रमण हुन नदिने विषयमा छलफल भयो। भारतीय तथा नेपाली मुद्राको अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले कडा निगरानी राख्ने सहमति भएको छ।
दुवै देशका सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
