NM Khabar 27 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशीमा बाढीको उच्च जोखिम: सप्तरीका १७५ घर डुबानमा, एक बालकको मृत्यु

अविरल वर्षाले सप्तरीमा कोशी नदीको बाढीले १७५ घर डुबानमा पारेको छ। बाढीले एक बालकको ज्यान लिएको छ। मधेश प्रदेशका अन्य नदीमा पनि पानीको बहाव बढेको छ। कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने बेलिब्रिज पुल बगाएको छ।
Kamala Devi
Kamala Devi
27 September 2026, 7:03 am १ मिनेट पढाइ
आकार:
मधेशमा बाढी
Share:

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घरमा कोशी नदीको बाढी पसेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१२ को कोशी तटीय क्षेत्रमा ८० र वडा नम्बर १३ को गोबरगाढामा ६० घर डुबानमा परेका छन्। घरमा पानी पसेपछि खाद्यान्नमा क्षति पुगेको छ। स्थानीयलाई खाना पकाउन र बस्न समस्या भएको छ।

वृद्धवृद्धा तथा बालबालिकालाई कोशीको पश्चिमी तटबन्ध तथा अन्य सुरक्षित स्थानमा सारिएको छ। गोबरगाढामा बाढीमा डुबेर पाँच वर्षीय विवेक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बाढीले जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षासँगै मधेशका कोशी, बलान, कमला, रातु लगायतका नदी तथा खोलामा पानीको बहाव बढेको छ। नदी आसपासका बस्तीमा स्थानीय प्रशासन र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। होचा तथा तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ। बाढीका कारण कतिपय स्थानमा सडक तथा ग्रामीण आवागमनसमेत प्रभावित भएको छ।

स्थानीय तहले प्रभावित क्षेत्रको निरीक्षण गर्दै सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न तथा अन्य राहत सामग्रीको व्यवस्थापनमा जुटेको जनाएका छन् ।

भोटेकोशी र त्रिशूली नदीको बाढीबाट विस्थापित भएर नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपालमा बसिरहेका परिवारलाई निरन्तरको वर्षाले थप समस्यामा पारेको छ। त्रिपाल चुहिने, भुइँ हिलाम्मे हुने र लुगा तथा ओछ्यान नभिजाउन कठिन भएपछि बालबालिका, सुत्केरी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। नुवाकोटको पिपलटार, ढुंगे, गेर्खु, भैँसे तथा त्रिशूली बजार आसपासका शिविरमा पानी पस्दा विस्थापित परिवारलाई रात बिताउनसमेत कठिन भएको छ। कतिपयले दोहोरो त्रिपाल टाँगेर ओत लाग्ने प्रयास गरेका छन्।

प्रशासनले वैकल्पिक व्यवस्था नभएसम्म तोकिएका होल्डिङ सेन्टरमै बस्न आग्रह गरेको छ। रसुवा र नुवाकोटमा विस्थापितको स्थायी पुनः स्थापनाका लागि सुरक्षित जग्गा पहिचान गरी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

गोरखाको चुमनुव्री–३ पैयुमा पहिरो खसेपछि लार्के सडक अवरुद्ध भएको छ। ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि आवागमन रोकिएको छ ।

पाँचथर–धनकुटा सीमास्थित नावा खोलामा पानीको बहाव घटेपछि तमोर करिडोरमा ठूला सवारीसाधन सञ्चालनमा आएका छन्। मध्यपहाडी राजमार्गको पाँचथर खण्ड पनि पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ। तर फिदिम–फालौट र जोरपोखरी–एकतिन सडक अझै अवरुद्ध छन्। प्रशासनले मुख्य तथा सहायक सडकमा रातिको समयमा सवारी सञ्चालनमा लगाएको रोकसमेत कायम राखेको छ ।

कर्णाली प्रदेशमा पनि वर्षाका कारण ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नारायणी नदीमा पानीको बहाव उच्च हुँदा पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएका छन्। नारायणीको बाढीले कावासोती–१७ अमलटारी, गैँडाकोट–२ तथा पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा डुबानमा परेको छ। सुस्ता गाउँपालिका–५ मा बाढीमा फसेका २९ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। सो क्षेत्रमा दुई सयभन्दा बढी घर डुबानमा परेको बताइएको छ। पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। देवघाट जलमापन केन्द्रमा नारायणीको जलसतह ९ मिटर बढी भएपछि खतराको चेतावनी दिएको छ। यससँगै नारायणी तटीय क्षेत्रका बासिन्दामा जोखिम थपिएको छ ।

कालीगण्डकी नदीको बहाव अत्यधिक बढेपछि स्याङ्जा र गुल्मी जोड्ने बेलिब्रिज पुल बगाएको छ। स्याङ्जाको कालिगण्डकी गाउँपालिका ७ र गुल्मीको पनि कालिगण्डकी गाउँपालिका १ जोड्ने उक्त पुल राती बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणका अनुसार मिर्मी ड्याम साइटभन्दा तल रहेको स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल पनि बाढीले बगाएको छ।

वर्षा जारी रहेकाले नदी तटीय, पहिरोको जोखिम भएका क्षेत्र तथा अस्थायी शिविरमा बसिरहेका नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले तोकेका सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार