दसैंको मुखमा चीनतर्फका तीन प्रमुख नाका अवरुद्ध हुँदा नेपालको आयात–निर्यात ठप्प भएको छ। अविरल वर्षापछि बेनी–जोमसोम सडक खण्डमा क्षति पुगेपछि कोरला, केरुङ र तातोपानी नाका बन्द भएका हुन्। यसले गर्दा दसैंको समयमा सामानको मूल्य बढ्ने र उपभोक्ताहरू मारमा पर्ने त्रास बढेको छ।
नेपालको कुल व्यापारको १४ प्रतिशत हिस्सा ओगट्ने चीनसँगको सडक यातायात बन्द भएपछि विशेषगरी इलेक्ट्रोनिक्स, लत्ताकपडा, मेसिनरी र विद्युतीय सवारीसाधनको आयातमा असर परेको छ। साउन–भदौ महिनामा मात्र चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो।
नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार चीनसँगको नाका अवरुद्ध हुँदा अटो बजार पूर्ण रूपमा प्रभावित भएको छ। दसैंको समयमा बुकिङ गरेका ग्राहकलाई सवारीसाधन दिन नसकिने अवस्था आएको छ। वर्षभरिको कुल व्यापारमध्ये ३५ देखि ४५ प्रतिशतसम्म चाडबाडको समयमा हुने भएकाले यसपालि राजस्वमा समेत असर पर्ने देखिएको छ।
केरुङ र तातोपानी नाका बन्द हुँदा कोरला नाकाबाट सवारी आयात गर्दा पनि व्यवसायीलाई प्रति सवारी ५० हजारदेखि १ लाख रुपैयाँसम्म बढी भार थपिन्थ्यो। अहिले यो नाका पनि बन्द भएपछि व्यापारमा ठूलो गिरावट आउने निश्चित छ। नेपालमा आयात हुने सवारीसाधनमध्ये ७० प्रतिशतभन्दा बढी विद्युतीय मोटर पर्ने गरेका छन्, जसको ठूलो हिस्सा चीनबाट आउँछ।
तीन वटै नाका अवरुद्ध भएपछि चीनसँग स्थलमार्गबाट हुने व्यापार मात्र नभई सीमापार आवागमनमा समेत असर परेको छ। कालीगण्डकी करिडोर खण्डमा धेरै क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार पर्वतको मालढुंगा–बेनी–जोमसोम सडकमा ५० भन्दा बढी पहिरो खसेका छन्। तीन दिनदेखि विद्युत् अवरोध हुँदा सूचना प्रवाहमा समेत समस्या भएको छ।
कोरला भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार नाकासम्म सामान लिन पुगेका दुई सयभन्दा बढी कन्टेनर यार्डमा थन्किएका छन्। तलबाट पनि कन्टेनर जान नपाएपछि व्यापार ठप्प छ। यी कन्टेनरमा दसैं र अन्य चाडपर्वका लागि ल्याइएका सामग्रीसँगै दैनिक उपभोग्य वस्तुहरू रहेका छन्।
नेपाल ट्रक कन्टेनर व्यवसायी संघका उपाध्यक्ष प्रह्लाद थापाले सडक सञ्चालनमा आउन समय लाग्ने भएकाले बजारमा अभाव र महँगी बढ्ने बताए। यसको प्रत्यक्ष असर उपभोक्तामाथि पर्ने र मुलुकको अर्थतन्त्रमा समेत प्रभाव पर्ने उनको भनाइ छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आपूर्ति सहज बनाउन प्रयास गर्नुपर्ने बताएका छन्। नेपाल हिमालपार वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरका अनुसार तातोपानी नाका वर्षा रोकिएपछि एक/दुई सातामा खुल्ने सम्भावना छ। कोरला नाका सञ्चालनमै रहेको र वर्षा तथा हिमपातका कारण नेपालतर्फको बाटो अवरुद्ध भएको उनको भनाइ छ। भोटेकोशी बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुनर्निर्माणमा भने समय लाग्नेछ।
यद्यपि, तुलाधरका अनुसार कोरला नाकाको अवरोध छिट्टै खुलेमा बजारमा सामग्रीको आपूर्तिमा खासै असर पर्ने छैन। बजारमा माग कम रहेको र व्यवसायीहरू स्टक क्लियरेन्समा लागेकाले समग्र मूल्य बढ्ने सम्भावना नभएको उनको तर्क छ। यद्यपि, केही विशेष वस्तुको मूल्य भने बढ्न सक्नेछ।
यसैबीच, उपभोक्तावादीहरूले चाडबाडको मुखमा नाका अवरुद्ध हुनुलाई मूल्यवृद्धि गराउने बहानाका रूपमा प्रयोग गर्न सक्ने भन्दै बजार अनुगमन बढाउनुपर्ने माग गरेका छन्। उपभोक्ताकर्मी माधव तिमल्सिनाले विगतमा पनि यस्तो प्रवृत्ति देखिएको र यस पटक नाका अवरुद्ध हुँदा झन् सहजता मिलेको बताए।
