बाढीपहिरोले चीनतर्फका तीनवटै प्रमुख व्यापारिक नाका ठप्प पारेको छ। रसुवागढी, तातोपानी र कोरला नाका अवरुद्ध हुँदा अर्बौं रुपैयाँ मूल्यका सवारी साधन सडक र भन्सार यार्डमा अलपत्र परेका छन्। यसले चीनबाट हुने सवारी साधनको आयात र ढुवानीमा गम्भीर असर पारेको छ।
दसैंको मुख्य व्यापारिक सिजन सुरु हुनै लाग्दा नाका तथा सडक अवरुद्ध भएपछि अटोमोबाइल व्यवसायी थप समस्यामा परेका छन्। बुकिङ भएका सवारी साधन समयमै ग्राहकलाई हस्तान्तरण गर्न नसकिएको व्यवसायीले बताएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार रसुवागढी–केरुङ नाका अवरुद्ध भएपछि करिब एक हजार सवारी साधन कोरला नाकातर्फ पठाइएको थियो। कोरला नाका जोड्ने सडकसमेत अवरुद्ध भएपछि ती सवारी साधनको ढुवानी प्रभावित भएको छ।
‘रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाकातर्फ सवारी साधन पठाएका थियौं। अहिले त्यहाँ जाने सडकसमेत अवरुद्ध भएपछि आपूर्ति व्यवस्थामै समस्या आएको छ’, उप्रेतीले भने, ‘दसैं-तिहारका लागि ग्राहकलाई दिएको समयमै गाडी उपलब्ध गराउन नसक्नु व्यवसायीका लागि ठूलो समस्या हो।’
चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै करिब ६ अर्ब ७० करोड रुपैयाँका सवारी साधन आयात भएका छन्। दसैंलाई लक्षित गरेर बुकिङ गरिएका सवारी साधन सडक अवरोधका कारण ग्राहकसम्म पुर्याउन नसकिएको उप्रेतीले बताए।
गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवागढीस्थित भन्सार कार्यालय, भन्सार यार्ड, मितेरी पुल र पहुँच सडकमा क्षति पुर्याएको थियो। बाढीका कारण भन्सार क्षेत्रमा रहेका सवारी साधन तथा मालवाहक कन्टेनरसमेत प्रभावित भएका छन्।
रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार बाढी आउँदा तीन सयभन्दा बढी विद्युतीय सवारी साधन तथा ट्रक भन्सार जाँचपासको प्रक्रियामा थिए। टिमुरे बजारदेखि रसुवागढीसम्म सडकमा रोकिएका सवारी साधनको यकिन संख्या भने अझै स्पष्ट नभएको उनले बताए।
व्यवसायीका अनुसार बाढीका बेला भन्सार प्रक्रिया पूरा गरेर बाहिरिएका ७० देखि ८० वटासम्म सवारी साधनसमेत सडकमा रोकिएका थिए। केही सवारी साधन बाढी तथा पहिरोको चपेटामा परेको उनीहरूको दाबी छ। प्रारम्भिक विवरणमा रसुवागढी क्षेत्रमा पाँच सयदेखि सात सयसम्म विद्युतीय सवारी साधन प्रभावित भएको व्यवसायीले बताएका छन्।
रसुवागढीपछि चीनबाट हुने व्यापारिक चाप कोरला नाकातर्फ सार्ने प्रयास भए पनि असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले कालीगण्डकीमा बाढी ल्यायो। यस बाढीले कोरला नाका जोड्ने सडकमा समेत क्षति पुर्याएको छ।
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गअन्तर्गतका केही पुलका एप्रोच सडक बगेपछि बेनी-जोमसोम सडक खण्ड हुँदै कोरला जाने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ।
कोरला नाका र त्यहाँको भन्सार कार्यालय सुरक्षित रहे पनि नाकासम्म पुग्ने सडक अवरुद्ध भएपछि चीनबाट सामान तथा सवारी साधन ल्याउन समस्या भएको छ। तातोपानी नाकामा पनि पहिरोको जोखिमका कारण कार्गो आवागमन प्रभावित भएको छ।
नाडाका अध्यक्ष उप्रेतीले दसैं नेपाली अटोमोबाइल व्यवसायको प्रमुख बिक्री सिजन भएकाले सडक अवरोधले व्यवसायमा प्रत्यक्ष असर पारेको बताए। सवारी साधन ढुवानीमा ढिलाइ हुनुका साथै वैकल्पिक मार्ग प्रयोग गर्दा समय र लागतसमेत बढेको छ।
‘सरकारले बिग्रिएका सडक यथाशीघ्र सञ्चालनमा ल्याएर आवश्यक ठाउँमा बेलिब्रिज निर्माण गर्न सके रोकिएका सवारी साधन ल्याएर ग्राहकलाई उपलब्ध गराउन सकिन्छ’, उप्रेतीले भने। सडक अवरोधको असर सवारी साधनमा मात्र नभई स्पेयर पाट्र्स, सर्भिसिङ, टायर र लुब्रिकेन्ट्स लगायत सहायक व्यवसायमा समेत परेको छ।
यस वर्ष दसैंको घटस्थापना असोज २५ गते परेको छ। दसैं नजिकिँदै गर्दा सवारी साधनको माग बढ्ने भए पनि आपूर्ति सुनिश्चित हुन नसक्दा बुकिङ गरेका ग्राहकलाई समेत प्रतीक्षा गर्नुपर्ने अवस्था आएको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीका वस्तु आयात गरेको छ। रसुवागढी र कोरला नाका अवरुद्ध भएपछि चीनबाट आउने सामानका लागि भारत हुँदै लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
रसुवागढी नाका विद्युतीय सवारी साधन आयातको प्रमुख प्रवेशद्वारका रूपमा विकास हुँदै आएको थियो। आर्थिक वर्ष २०८२/८३ मा यस नाकाबाट ६ हजार पाँच सयभन्दा बढी विद्युतीय सवारी साधन नेपाल भित्रिएको थियो। सोही अवधिमा सवारी साधन तथा अन्य वस्तुको आयातबाट रसुवा भन्सार कार्यालयले १५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो।
नाका तथा सडक अवरोधको असर चीनतर्फसमेत परेको छ। नेपालका लागि सामान बोकेका कन्टेनर तथा मालवाहक सवारी साधन केरुङतर्फ रोकिएका छन्। करिब २० वटा सामान लोड भएका तथा सिल गरिएका गाडी केरुङमै रोकिएका छन्।
अटो व्यवसायीले अवरुद्ध सडक तथा राजमार्ग तत्काल सञ्चालनमा ल्याउन, क्षतिको विवरण संकलन गर्न र रोकिएका सवारी साधनको ढुवानी सहज बनाउन सरकारसँग आग्रह गरेका छन्। सडक सञ्चालन भएपछि नाकामा रोकिएका सवारी साधनलाई प्राथमिकताका आधारमा गन्तव्यसम्म पुर्याउनुपर्ने उनीहरूको माग छ।
