अक्टोबर १, २०२६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा समय खेर फाल्ने ब्याटरलाई ५ रनको पेनाल्टी लाग्नेछ, जसको घोषणा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गरेको छ।
खेलको गति कायम राख्न ब्याटरहरूलाई बलर बलिङ रन-अपमा पुग्दा स्ट्राइक लिन तयार भइसक्नुपर्ने बाध्यता बनाइएको छ। ब्याटरले निर्धारित समयमा बल सामना गर्न तयार नभई खेलमा ढिलाइ गरेमा अम्पायरले चरणबद्ध कारबाही गर्नेछन्। पहिलो पटक ढिलाइ गर्दा ब्याटरलाई चेतावनी दिइनेछ। दोस्रो पटक ढिलाइ गरेमा अन्तिम चेतावनी दिइनेछ। तेस्रो र त्यसपछिका हरेक पटक ढिलाइ गरेमा विपक्षी (फिल्डिङ) टोलीलाई पेनाल्टी स्वरूप ५ रन प्रदान गरिनेछ।
टेस्ट तथा बहु-दिवसीय खेलहरूमा यो नियम हरेक ८० ओभरको ब्लकमा लागू हुनेछ र ८० ओभर समाप्त भएपछि चेतावनीको गणना पुनः शून्यबाट सुरु हुनेछ। यद्यपि, कुनै खेलाडी आउट भएपछि नयाँ ब्याटरलाई क्रिजमा आउन दिइने २ मिनेटको समय भने यथावत राखिएको छ। बारम्बार नियम तोड्ने खेलाडीमाथि आईसीसीको आचारसंहिताअन्तर्गत पनि कारबाही हुन सक्नेछ।
महिला क्रिकेटका लागि छुट्टै बल
आईसीसीले महिला क्रिकेटका लागि पनि छुट्टै मापदण्डको बल प्रयोग गर्ने नियम ल्याएको छ। यसअघि महिला र जुनियर क्रिकेटका लागि प्रायः एउटै आकार र तौलको बल उत्पादन तथा प्रयोग गरिँदै आइएको थियो। अब भने पुरुष, महिला र जुनियर क्रिकेटका लागि तीन छुट्टाछुट्टै आकार र तौलका बलहरूको मापदण्ड निर्धारण गरिएको छ।
पुरुषको बलको तौल १५६ देखि १६३ ग्राम र परिधि २२.४ देखि २२.९ सेन्टिमिटर हुनेछ। महिलाको बलको तौल १४२ देखि १४९ ग्राम र परिधि २१.५ देखि २२ सेन्टिमिटर हुनेछ। यसले महिला खेलाडीहरूलाई उनीहरूको शारीरिक क्षमताअनुसार उपयुक्त बल प्रयोग गर्न मद्दत पुग्नेछ।
खेलको गति र निष्पक्षताका लागि अन्य नियमहरू
दिउँसो खेलिने टेस्ट खेलहरूमा खराब प्रकाशका कारण खेल रोकिने समय घटाउन दुवै टोलीको सहमतिमा ‘पिंक बल’ (गुलाबी बल) प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यो निर्णय खेल सुरु हुनुअघि हुनेछ र एकपटक निर्णय भएपछि पूरै खेलमा त्यही बल प्रयोग गर्नुपर्नेछ।
बहु-दिवसीय खेलहरूमा दिनको अन्तिम ओभरमा विकेट खस्दैमा स्वतः दिनको खेल समाप्त हुने छैन, बाँकी बलहरू खेलाइनेछ। यसले खेलको अन्त्यमा अनावश्यक ढिलाइ रोक्नेछ।
रन-आउट र स्टम्पिङको निर्णयमा थप स्पष्टता ल्याइएको छ। ब्याटरलाई रन-आउट वा स्टम्पिङ गर्नका लागि फिल्डर वा विकेटकिपरको बलमा पूर्ण नियन्त्रण हुनुपर्नेछ। बलले मात्र छोएर स्टम्पको गिल्ली (बेल्स) खस्दैमा रन-आउट वा स्टम्पिङ मानिने छैन।
टी-२० अन्तर्राष्ट्रिय खेलमा इनिङ्सको बीचमा १५ मिनेटको निर्धारित अन्तराल हुनेछ, जसलाई समयको क्षति भएमा न्यूनतम १० मिनेटसम्म घटाउन सकिनेछ। यसका साथै, ओभरथ्रोको परिभाषा पनि स्पष्ट पारिएको छ। स्टम्पमा बल प्रहार गरी रन रोक्ने वा रनआउट गर्ने प्रयासका क्रममा बल अन्यत्र गएमा त्यसलाई ओभरथ्रो मानिनेछ, तर सामान्य मिसफिल्डलाई ओभरथ्रो मानिने छैन।
आईसीसी पुरुष क्रिकेट समितिका अध्यक्ष सौरभ गांगुलीले यी नयाँ परिवर्तनले खेलको आधुनिक आवश्यकतालाई सम्बोधन गर्ने बताएका छन्। यी नियमहरू अक्टोबर १, २०२६ वा त्यसपछि सुरु हुने अन्तर्राष्ट्रिय सिरिजमा लागू हुनेछन्, तर यसअघि नै सुरु भइसकेका सिरिजमा भने पुरानै नियम कायम रहनेछन्।
