जनकपुरधाममा पसल तोडफोड गरेको झुटो आरोपमा धनुषा प्रहरीले नियन्त्रणमा लिएका पत्रकार तथा युट्युबर ध्रुव झा अन्ततः रिहा भएका छन्। सत्यको पक्षमा उभिने पत्रकारलाई दबाउन खोज्ने प्रहरी प्रशासनको कदम नागरिक समाज र स्वतन्त्र पत्रकारहरूको ऐक्यबद्धताले असफल भएको हो।
केही दिनअघि प्रहरीले झामाथि मदिरा सेवन गरी पसल तोडफोड गरेको र प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लगाएको थियो। यस विषयमा प्रहरीले विज्ञप्ति नै जारी गरेर झालाई नियन्त्रणमा लिएको थियो।
तर, झालाई पुरानो रिसइबी साँध्न र सत्यको आवाज दबाउन बिना कुनै ठोस प्रमाण फसाउन खोजिएको भन्दै चौतर्फी विरोध सुरु भयो। पत्रकारिताको स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै प्रहरी प्रशासनमाथि दबाब बढेको थियो।
जनदबावका कारण प्रहरी प्रशासन अन्ततः झालाई रिहा गर्न बाध्य भयो। यो रिहाइ केवल एक व्यक्तिको मात्र नभई स्वतन्त्र पत्रकारितालाई तर्साउन खोज्ने ‘प्रहरी-तन्त्र’ विरुद्धको शानदार जीत भएको नागरिक समाजका अगुवाहरूले बताएका छन्।
मधेस प्रदेशमा पत्रकारितामाथि प्रहरीको हस्तक्षेप
धनुषा प्रहरीले पत्रकार झालाई पक्राउ गर्दा लगाएको आरोपमाथि सुरुदेखि नै प्रश्न उठेको थियो। स्थानीय पत्रकार र नागरिक समाजले प्रहरीको नियतमाथि शंका गर्दै यसलाई पत्रकारितामाथिको हस्तक्षेपका रूपमा लिएका थिए। यो घटनाले मधेस प्रदेशमा पत्रकारिताको स्वतन्त्रतामाथि चुनौती थपिएको देखाएको छ।
झाको रिहाइपछि उनका समर्थक र परिवारले सत्य र न्यायको पक्षमा उभिने सबै पत्रकार, नागरिक समाज र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले ‘सत्यको पक्षमा हाम्रो आवाज सधैँ बुलन्द रहोस्, पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो एकता अझ बलियो बनोस्’ भन्दै धन्यवाद सन्देश जारी गरेका छन्।
मधेस प्रदेशमा पत्रकारहरूमाथि हुने यस्ता घटनाले स्थानीय स्तरमा सूचनाको पहुँच र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्ने जोखिम रहन्छ। यस रिहाइले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रहरी प्रशासनलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।
