अमेरिकी अर्बपति एलन मस्कले वर्षौँको प्रतीक्षा र पटक–पटकको ढिलाइपछि अन्ततः हावामा उड्ने क्षमता भएको नयाँ ‘टेस्ला रोडस्टर’ स्पोर्ट्स कार सार्वजनिक गरेका छन्। टेक्ससस्थित स्पेसएक्सको परीक्षण केन्द्रबाट प्रत्यक्ष प्रसारण गरिएको एक विशेष कार्यक्रममार्फत मस्कले यो कारको प्रत्यक्ष डेमो प्रदर्शन गरेका हुन्।
यो प्रदर्शनमा कारले एउटा घुमाउरो र्याम्पबाट उल्टो हुँदै गुरुत्वाकर्षणलाई चुनौती दिएर हावामा उडान भरेको थियो। त्यसपछि हावामै १८० डिग्री घुमेर कार सकुशल आफ्नो पाङ्ग्रामा अवतरण गरेको थियो।
मस्कका अनुसार कारलाई हावामा उडाउन ‘अल्ट्रा हाई–प्रेशर एयर ट्याङ्क’ (उच्च चापयुक्त ग्यास बुस्टरहरू) जडान गरिएको छ। विश्वकै उत्कृष्ट कार कम्पनी (टेस्ला) र रकेट कम्पनी (स्पेसएक्स) बीचको सहकार्यबाट मात्र यस्तो प्रविधि सम्भव भएको उनले बताएका छन्।
यस अद्वितीय प्रदर्शनपछि उत्साहित मस्कले ‘उडने कारहरू अब वास्तविक हुन्’ भन्दै घोषणा गरे। उनले यो परियोजनाको शतप्रतिशत सफलताको पूर्ण ग्यारेन्टी नभए पनि यसले पक्कै काम गर्ने दाबी गरे।
यो उड्ने कार सन् २०२८ देखि व्यावसायिक उत्पादनमा जाने मस्कले जानकारी दिएका छन्।
