धनुषाका किसानहरू यस वर्ष धानबालीमा विभिन्न रोगको संक्रमण फैलिएपछि उत्पादन घट्ने चिन्तामा परेका छन्। जिल्लामा रोपाइँ भएको धानबालीमध्ये करिब १० प्रतिशतभन्दा बढीमा रोगको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र धनुषाले जनाएको छ।
सामान्यतया ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने धनुषामा यस वर्ष ४० हजार ५ सय १५ हेक्टरमा मात्र रोपाइँ भएको छ। रोपाइँ भएको क्षेत्रफलमा समेत रोगको संक्रमण देखिएपछि किसान थप चिन्तित बनेका हुन्।
‘सोना मन्सुली’ धानमा रोगको प्रकोप
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख प्रदीप यादवका अनुसार जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा ‘राइस ब्लास्ट’, ‘ब्राउन लिफ स्पट’ र ‘सिथ ब्लाइट’ जस्ता रोगको संक्रमण पुष्टि भएको छ। करिब १० प्रतिशत धानमा रोगव्याधिको प्रकोप बढी देखिएकाले यस वर्ष उत्पादनमा ह्रास आउन सक्ने उनले बताए।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथका सूचना अधिकारी रवीन्द्रप्रसाद साहका अनुसार मधेश प्रदेशमा अधिकांश क्षेत्रमा ‘सोना मन्सुली’ जातको धान लगाइने गरेको छ। यो जात नेपालमा दर्ता नभएको र भारत तथा सीमावर्ती क्षेत्रबाट ल्याएर लगाइने भएकाले यसमा रोगव्याधिको जोखिम बढी हुने गरेको उनको भनाइ छ। भारतमा १५ वर्षअघि नै ‘सिथ ब्लाइट’ रोगको कारक ‘राइजोकेटेनिया’ नामक ढुसी (फंगस) यो धानभित्रै रहने देखिएपछि ‘सोना मन्सुली’ धानलाई खेती गर्न अयोग्य घोषणा गरिएको थियो।
किसानलाई प्राविधिक सल्लाहको आग्रह
कृषि ज्ञान केन्द्र धनुषाका बाली विकास अधिकृत मिथिलेश साहले यस वर्ष जिल्लामा ९५ प्रतिशत रोपाइँ भए पनि कीरा तथा रोगको प्रकोप बढी देखिएको बताए। रोगव्याधिले धेरै क्षति नगरेको भए उत्पादन राम्रै हुन सक्थ्यो, तर अहिले स्थिति चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
कृषि ज्ञान केन्द्रले किसानलाई नियमित रूपमा खेतबारीको अनुगमन गर्न र लक्षण देखिनासाथ कृषि प्राविधिकसँग परामर्श लिन आग्रह गरेको छ। रोगको सही पहिचान गरी प्राविधिकको सिफारिसअनुसार मात्रै ‘कारटाप हाइड्रोक्लोराइड’ नामक विषादी प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ। रोगअनुसार विषादीको छनोट, मात्रा र प्रयोग विधि फरक हुन सक्ने भएकाले प्राविधिकको सल्लाह आवश्यक रहेको केन्द्रले जनाएको छ।
मधेश प्रदेशमा धान उत्पादनको चुनौती
मधेश प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ। ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट किसानले सिँचाइ गरेर धान रोप्दा केही सहजता भए पनि धनुषामा कमला नदी सुक्दा समस्या भएको छ।
मधेश प्रदेश सरकारले सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत किसानलाई तत्काल राहत दिने घोषणा गरेको छ। यसका लागि १८ करोड बजेट विनियोजन गरिए पनि यो पर्याप्त नभएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन्। प्रदेश सरकार सिँचाइ व्यवस्थापन सहयोगका लागि सङ्घीय सरकारको निर्णयको पर्खाइमा रहेको छ।
