धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने प्रयास गर्दा विस्फोट भएको छ। सोमबार दिउँसो करिब १:३० बजे भएको यस घटनामा काभ्रेपलाञ्चोकका दुई दाजुभाइ २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका छन्।
काभ्रेपलाञ्चोकको ढुङखर्क गाउँपालिका–९ घर भएका ५३ वर्षीय कान्छा परियार र उनका दुई छोरा जंगे र रामचन्द्रले त्रिशूली किनारमा उक्त शंकास्पद वस्तु फेला पारेका थिए। उनीहरू ज्यामिरेघाटस्थित सरस्वती खड्काको घरमा कोठा भाडामा बस्दै आएका थिए।
प्रहरीका अनुसार, उनीहरूले उक्त वस्तु फुटाउने क्रममा अचानक विस्फोट भएको थियो। विस्फोटका छर्रा लागेर जंगे र रामचन्द्रको शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ।
शंकास्पद वस्तुको अनुसन्धान
प्रहरीका अनुसार, त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु के थियो भन्नेबारे अझै खुल्न सकेको छैन। यो वस्तु नदी किनारमा कसरी पुग्यो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमान्डमा एक प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
यसअघि पनि नारायणी नदी किनारमा यस्तै शंकास्पद वस्तु विस्फोट हुँदा नवलपुरमा तीन जना घाइते भएका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार जारी छ।
