शनिबार लहान नगरपालिकाको मेयर पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व सहमहामन्त्री परमेश्वर साहले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले नेपाल प्रेस युनियन सिराहा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सो घोषणा गरेका हुन्।
साह विगत करिब ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्, जसको सुरुवात नेविसंघबाट भएको थियो। उनी नेविसंघ सिरहाका पूर्वजिल्ला अध्यक्ष तथा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार पनि बनेका थिए।
पृष्ठभूमि
- नेपालमा स्थानीय तहको निर्वाचन २०४९, २०५४ र २०७४ सालमा सम्पन्न भइसकेको छ।
पार्टीभित्र इच्छुक नेताहरूले विधानसम्मत तरिकाले आफ्नो दाबी प्रस्तुत गर्ने अधिकार राख्छन् भन्दै साहले उम्मेदवारी घोषणा गरे। उनले भने, ‘पार्टीले अन्तिममा जसलाई उम्मेदवार बनाए पनि सबै नेता–कार्यकर्ता एकजुट भएर जिताउन लाग्नुपर्छ।’
साहले लहानमा कांग्रेसको नेतृत्वमा पहिलोपटक मेयर निर्वाचित भएपछि विकास निर्माणका कामले गति लिएको स्मरण गराए। उनले आगामी दिनमा पनि नगरको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने धारणा राख्दै कांग्रेसको नेतृत्वमा नगरको विकासले थप गति लिने विश्वास व्यक्त गरे।
हाल लहान नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेशप्रसाद चौधरी र उपमेयरमा जनता समाजवादी पार्टीका रामचलितर महतो निर्वाचित छन्। निर्वाचन आयोगले सरकारलाई आगामी स्थानीय तह निर्वाचन चैत ५ गतेभित्र गर्न सुझाव दिएको छ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँ वा नगर सभाको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन हुनुपर्छ। २०७९ वैशाखमा निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ।