सिरहाको नवराजपुर–५ देवनगरबाट सशस्त्र प्रहरीले ४० लाखको अवैध सामानसहित गाडी र दुई जनालाई नियन्त्रणमा लियो।
विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ लैजान लागिएको अवैध सामान सशस्त्र प्रहरीले बरामद गर्यो।
सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाका प्रमुख एसपी सुमनजङ्ग थापाका अनुसार, विशेष सुराकीमा खटिएको ३५ सदस्यीय टोलीले शनिबार राति ९ बजे स१ख ५३५ नम्बरको टाटा टुटोन गाडी जाँच गर्यो।
गाडीमा लुकाईछिपाई राखिएको कस्मेटिक सामग्री, मन्जन र ओखर फेला पर्यो। बरामद सामान र गाडीको अनुमानित बजार मूल्य ४० लाख रुपैयाँ छ।
घटनामा संलग्न नवराजपुर–५ निवासी ५० वर्षीय राजेशकुमार यादव र ३९ वर्षीय आनन्द यादव पक्राउ परे।
पक्राउ परेका व्यक्ति, बरामद सामान र गाडीलाई भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको एसपी थापाले जानकारी दिए। सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि गस्ती तीव्र पारिएको उनको भनाइ छ।
