नेपाली लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट लिने विश्वकै पहिलो खेलाडी बनेका छन्।
उनले मात्र ७३ खेलमा यो ऐतिहासिक कोशेढुङ्गा पार गरे।
यसअघि यो कीर्तिमान अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा थियो। स्टार्कले १५० विकेटको आँकडा छुन ७७ खेल खेलेका थिए।
सन्दीपले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो दुर्लभ उपलब्धि हासिल गरे।
यो आईसीसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेल थियो।
ओडिआईमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान पनि सन्दीप लामिछानेकै नाममा छ। उनले ४२ खेलमा यो उपलब्धि हासिल गरेका थिए।
