अवैध रूपमा कम्बोडिया पुगेका धादिङका सन्तोष राईको शव ६ दिनदेखि अस्पतालमा अलपत्र छ। परराष्ट्रमन्त्री शिशिर खनालले यस्ता घटनाका लागि सरकारी कोष नभएको बताएका छन्।
धादिङको धुनीवेशी नगरपालिका–९ का ४२ वर्षीय राई गत वर्ष भदौमा अवैध रूपमा भारत हुँदै कम्बोडिया पुगेका थिए। उनको वैशाख २९ गते काल्मेट अस्पतालमा ‘हेमोरेजिक स्ट्रोक’का कारण उपचारका क्रममा मृत्यु भएको थियो।
आर्थिक विपन्नता र कानुनी जटिलताका कारण शव ल्याउन नसकेको भन्दै मृतककी श्रीमती जुनु राईले सहयोगका लागि हारगुहार गरेकी थिइन्।
परराष्ट्रमन्त्री खनालले मन्त्रालयमार्फत शव ल्याउन सहजीकरण भइरहेको बताए। तर, राई अवैधानिक रूपमा गएकाले समस्या उत्पन्न भएको उनको भनाइ छ।
मन्त्री खनालका अनुसार, परराष्ट्र मन्त्रालयसँग यस्ता घटनाका लागि छुट्टै कोष छैन। वैध श्रम स्वीकृति लिएर गएको भए वैदेशिक रोजगार कोषबाट सहयोग हुने भए पनि भिजिट भिसामा अवैध रूपमा विदेशिएका हकमा नेपाल सरकारसँग हालसम्म कुनै कोषको व्यवस्था छैन।
सामान्यतः यस्ता शव परिवार वा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा ल्याइने गरेको छ। हाल पनि एनआरएनएसँग सहयोग मागिएको उनले बताए।
कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली राजदूतावासले राई प्रवेशाज्ञा अवधि नाघेकाले कम्बोडियामा बसिरहेको जनाएको छ। कम्बोडिया सरकारबाट ‘ओभर स्टे फाइन’ माफी गराई वैशाख ३० गते घर फर्काउने तयारी भएकै बेला उनको मृत्यु भएको दूतावासले बताएको छ।
उनी बिरामी भएकै बेला दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो।
