त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लिग लिडर स्कटल्याण्डलाई ६ विकेटले स्तब्ध पारेको छ। यो जितसँगै नेपाल २२ अंकसहित सातौँबाट छैटौँ स्थानमा उक्लियो, क्यानडालाई पछि पार्यो।
ललित राजवंशीको कसिलो बलिङ, कप्तान रोहित पौडेल र इशान पाण्डेको उत्कृष्ट अर्धशतकीय साझेदारीले नेपालले १९५ रनको लक्ष्य भेट्टायो।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रन बनाएर अलआउट भयो। ब्रान्डन म्याकमुलनले ४४ बलमा ७३ रन र माइकल इङ्लिसले ५१ रनको योगदान दिए; अन्य ब्याटर भने चलेनन्।
स्कटल्याण्डलाई सस्तैमा समेट्न स्पिनर ललित राजवंशीले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। उनी ‘प्लेयर अफ दि म्याच’ चुनिए। सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले १-१ विकेट हात पारे।
१९५ रनको लक्ष्य पछ्याउँदै नेपालले आक्रामक सुरुवात गर्यो। ओपनर आसिफ शेखले १७ बलमा २९ रन र कुशल भुर्तेलले २७ बलमा २८ रन जोडे। तर, आठौँ ओभरभित्रै ५९ रनको कुल स्कोरमा दुवै ओपनर आउट भएपछि खेल रोचक मोडमा पुग्यो।
दुई विकेट गुमेपछि क्रिजमा आएका कप्तान रोहित पौडेल र इशान पाण्डेले इनिङ्स सम्हाले। दुवै ब्याटरले तेस्रो विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै नेपाललाई जितको नजिक पुर्याए।
इशान पाण्डेले ६१ बलमा ५ चौका र २ छक्कासहित ५५ रन बनाएर आउट भए। कप्तान पौडेल ९८ बलमा ७४ रन बनाई अविजित रहे।
