राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की (मोरङ–२) माथि भदौ २४, २०८२ मा सिंहदरबार र संसद् भवनमा भएको आगजनी तथा तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप छ। जेन-जी मुभमेन्ट नेपालले कार्कीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, भिडियो र तस्बिरहरूमा सांसद कार्की स्वयं संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको देखिएको उल्लेख छ। उनले घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको र संलग्नताको संकेत दिएको बताइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो।’
सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप पनि सार्वजनिक भएको छ। यस विषयमा सांसद पार्वती विकले प्रतिनिधिसभा बैठकमा प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनले घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमाथि समेत असर पार्ने टिप्पणी गरेकी थिइन्।
जेनजी मुभमेन्ट नेपालले गृह मन्त्रालय र नेपाल प्रहरीलाई सांसद कार्कीलाई तत्काल पक्राउ गरी आगजनी, तोडफोड तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएको अभियोगमा कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै, नाइजेरियन युवतीसँग सम्बन्धित आरोपको निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने माग छ।
मुभमेन्टले निष्पक्ष अनुसन्धान, कानुनी शासन र दोषीमाथि अविलम्ब कारबाहीको माग गर्दै शान्तिपूर्ण तथा प्रमाणमा आधारित छानबिनको पक्षमा रहेको जनाएको छ।
