मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयले आफ्नो लेटरप्याड प्रयोग गरी व्यक्तिको १४ कट्ठा ३ धुर जग्गा बिक्री र नामसारी गरेको रहस्य खुलेको छ। जग्गा किनबेच र नामसारी गर्ने अधिकार मालपोत कार्यालयको भए पनि विद्यालयले नै यसरी काम गरेको पाइएको हो।
उक्त जग्गा ६२ वर्षीय रोहितराम फुयालको नाममा छ। उनको लालपुर्जा र तिरो तिरेको प्रमाण अझै छ। तर, १४ कट्ठा ३ धुर जग्गामा १४ परिवारले घर बनाएर बसिरहेका छन्। ती परिवारसँग जग्गा स्वामित्वबारे विद्यालयले बनाएको कागजपत्र छ।
जनसेवा माध्यमिक विद्यालयले आफूलाई जग्गाको मालिक दाबी गर्दै विभिन्न व्यक्तिलाई जग्गा बाँडेको र नामसारी गरेको देखिन्छ। २०५२ माघ १५ गते विद्यालयले काटेको पत्रमा लक्षुमण श्रेष्ठको नाममा जग्गा नामसारी गरेको उल्लेख छ। यो प्रक्रियामा विद्यालयले १०० रुपैयाँ शुल्कसमेत असुल गरेको पाइएको छ। विद्यालयले कुन कानुनी आधारमा व्यक्तिको निजी जग्गा यसरी नामसारी गर्यो भन्ने प्रश्न अनुत्तरित छ।
विद्यालयको यो कार्यले स्थानीयहरूलाई जग्गा बिक्री वितरण गरेको भन्दै पत्र लेखेको छ। सोही आधारमा उनीहरूले जग्गा आफ्नो भएको दाबी गरिरहेका छन्। २०६० सालको एक कागजमा विद्यालय वा बजार समितिबाट घडेरी किनेको उल्लेख छ। जग्गा धनीको अनुमति बिना अरूलाई भोगचलन गर्न दिनु र सिफारिस गर्नु ठगी र किर्ते कार्य हो।
यो प्रकरणको सुरुवात २०३९ साल असोज १५ गते रोहितरामका बुबा नरपति फुयालको पालामा भएको थियो। तत्कालीन गाउँ पञ्चायतका प्रधानपञ्च डीएन राई र वडा अध्यक्ष प्रेम प्रकाश पराजुलीले नरपतिलाई ‘जग्गामा हाटबजार लगाउनु पर्छ, पञ्चायतलाई छोडिदेऊ’ भनी प्रलोभन देखाएका थिए। बदलामा जनसेवा माविमा पियन जागिर र २ बिघा ऐलानी जग्गा दिने आश्वासन दिइएको थियो।
जागिरको लोभमा नरपतिले काँचो कागजमा सहीछाप गरिदिए। उनले जागिर त पाए तर न त जग्गा नै फिर्ता भयो, न त भनेको ऐलानी जग्गा नै। पञ्चायतले उनको जग्गा हडपेर गाउँ पञ्चायत र विद्यालयलाई सुम्पियो। त्यही समयदेखि विद्यालयले पाएको ४ कट्ठा जग्गा बिक्री वितरण हुन थाल्यो।
हाल उक्त जग्गामा चन्द्रकला पौडेल, रत्नबहादुर पौडेल, लक्ष्मण श्रेष्ठ, कृष्णकुमारी कार्की लगायतका १४ परिवारले घर बनाएका छन्। उनीहरूले विद्यालय वा पञ्चायतसँग जग्गा किनेको दाबी गर्छन्। उनीहरूसँग विद्यालयले दिएका अवैध कागजपत्र बाहेक वैधानिक लालपुर्जा छैन।
जग्गाका वास्तविक मालिक रोहितराम फुयाल विगत चार वर्षदेखि दुवै मिर्गौला फेल भएर उपचार गराइरहेका छन्। उनले २०८१ मंसिरसम्मको जग्गा कर तिरिसकेका छन्। उनीसँग २०३४ सालको सक्कल लालपुर्जा सुरक्षित छ। ‘मेरो लालपुर्जा मेरै नाममा छ, तिरो मैले तिरिरहेको छु, तर जग्गामा अरूलाई राखेर गाउँपालिकाले बजेट खर्च गर्छ र टहरा बनाउँछ,’ रोहितरामले गुनासो गरे।
रोहितरामका छोरा सेन्जाम फुयालले न्यायका लागि कानेपोखरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। उनको निवेदनको आधारमा शनिबार गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले सर्वपक्षीय छलफल राखेकी थिइन्। छलफलमा विद्यालयले जग्गा बिक्री गरेको पाइएको अध्यक्ष इङ्नामले बताइन्।
प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जग्गा कानुनी रूपमा फुयालकै नाममा रहेको स्वीकार गरिन्। विद्यालयले लेटरप्याड प्रयोग गरेर जग्गा नामसारी वा बिक्री सिफारिस गर्नु गैरकानुनी कार्य हो। यसमा संलग्न तत्कालीन प्रधानाध्यापक र पञ्चायतका प्रतिनिधिमाथि कारबाही हुनुपर्ने केही जनप्रतिनिधिको भनाइ छ।
उपाध्यक्ष भोला अधिकारीले न्यायिक समितिमा परेको निवेदन छलफल नगराउने भन्दै अध्यक्ष इङ्नामलाई पठाइदिएका थिए। देशभर सरकारी र अतिक्रमित जग्गा खाली गराउने क्रम चलिरहेको छ। यसले रोहितरामलाई पनि आशा जागेको छ। उनका छोरा सेन्जाम भन्छन्, ‘हामीलाई कसैको उठीबास लगाउनु छैन, तर हाम्रो नम्बरी जग्गा हामीले पाउनुपर्छ। विद्यालयले गरेको यो अपराध हो, यसलाई सच्याउनुपर्छ।’
विद्यालयका प्रधानाध्यापक प्रमोद निरौलाले जग्गाको विषयमा अहिले केही नबोल्ने बताए। ‘नापजाँच चलिरहेको छ। बिक्री भएको, नभएको केही कुरा अहिले यकिन गरिएको छैन। सम्बन्धित निकायले जवाफ मागेको छ। जवाफ दिएपछि तपाईंलाई पनि भनौँला,’ उनले भने। तर, विद्यालयको जग्गा किनबेच गर्दा तत्कालीन प्रधानाध्यापक तुलाराम गुरुङ र गाउँ विकास समितिका सचिव तारा काफ्ले थिए। काफ्ले २०५४ र २०७४ मा गाविस/गाउँपालिका अध्यक्ष भइसकेका व्यक्ति हुन्। पालिकाले काफ्लेसहित तीन दर्जनभन्दा बढी सरोकारवालासँग गरेको छलफलले कुनै निर्णय गर्न सकेको छैन।
