निर्वाचन पराजयको मुख्य कारण गठबन्धन रहेको निष्कर्ष निकालेको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा कोशी प्रदेश सरकार परिवर्तनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका छन्।
मंगलबार ओली निवास भक्तपुरको गुण्डुमा भएको भेटमा विगतमा भएको सहमति अनुसार आलोपालो मुख्यमन्त्री बन्ने विषयमा दुवै दलका नेताहरूले छलफल गरेको स्रोतको दाबी छ। अहिले नै मुख्यमन्त्री परिवर्तन गर्ने कि बजेटपछि भन्ने विषयमा भने कांग्रेस र एमाले निर्णयमा पुगिनसकेको बताइन्छ।
यो भेट कांग्रेसको गत चैतमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णय विपरीत देखिएको छ। उक्त बैठकले निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयको मुख्य कारण विगतमा गरिएको ‘गठबन्धन संस्कृति’ रहेको निष्कर्ष निकालेको थियो।
‘कांग्रेस–एमालेको गठबन्धन सरकार हाम्रो परिपक्व विश्लेषण र दुरदर्शी सोचको उपज थिएन, पार्टीको महामन्त्री तहमा समेत संवाद नगरी अपारदर्शी ढंगले रातारात भएको सम्झौता थियो,’ कांग्रेस बैठकमा प्रस्तुत प्रस्तावमा उल्लेख थियो।
गठबन्धन नै अलोकप्रियताको मुख्य कारण भनेर किटान गरेको कांग्रेसले डेढ महिनामै उपसभापति शर्मासहितको टोली प्रदेशको गठबन्धन कायम गराउन भन्दै ओलीको ढोका ढक्ढक्याउन पुगेपछि विशेष महाधिवेशन इतर पक्षले आलोचना गर्न सुरु गरेका छन्।
डाक्टर शेखर कोइराला निकट तरुण दलका नेता नेत्र पौडेलले आफ्नै निर्णयको विरुद्धमा जानु लज्जास्पद भएको बताएका छन्। ‘कांग्रेस सत्ताभन्दा बाहिर बस्नै सक्दैन भन्ने उदाहरण यसले देखाएको छ। शेरबहादुर देउवाले गठबन्धन गरेर गलत गरे भनेर निर्णय गरेको डेढ महिना पूरा नहुँदै युटर्न हुनु नयाँ बोतलमा पुरानै रक्सी भनेजस्तै हो,’ पौडेलले भने।
२०८१ पुस २७ मा गठित हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कांग्रेससँग गठबन्धन गरेको (भदौ २७) १८ महिना पुग्न लाग्दा मुख्यमन्त्री फेरबदलको चर्चा केही दिनयता जारी छ। नेपाली कांग्रेस बजेट (असार १) अगाडि नै सरकार बदल्न चाहन्छ भने एमाले भने आलटाल गरिरहेको स्रोत बताउँछ।
कांग्रेसका कोशी प्रदेश सभा सदस्य तथा अर्थसमितिका सभापति विनोद वान्तवा राईले सरकार फेरबदलको कुरा केन्द्रमा छलफल भए पनि आफूलाई थाहा नभएको बताए। ‘यस्तो कुरा केन्द्रमा हुन्छ। मलाई कुनै सूचना छैन,’ उनले भने।
उता कांग्रेसकै सांसद तथा पूर्वमन्त्री हिमाल कार्की भने सरकार बदल्ने हो भने बजेट अगाडि नै गर्नुपर्ने बताउँछन्। ‘सरकार बदल्ने हो भने बजेट अगाडि नै गर्नुपर्छ,’ उनले भने, ‘यो संसद् र यो संसदबाट बन्ने सरकारको यही अन्तिम बजेट पनि हुनसक्छ। अहिलेकै सरकारलाई बजेट ल्याउन दिने हो भने सरकार बदल्नुको के अर्थ ?’
बजेट ल्याउनु अगाडि नै अर्को सरकार बनाउनुपर्छ भन्ने विषयमा कांग्रेस एकमत देखिए पनि आफ्नो दलबाट को मुख्यमन्त्री बन्ने भन्ने विषयमा भने विवाद सिर्जना भएको छ। कांग्रेसको आन्तरिक कलहले सरकार परिवर्तनको प्रक्रियालाई जति सहज हुनुपर्ने हो, त्यति हुन नदिएको सो पार्टीकै सांसदहरू स्वीकार गर्छन्।
गत मंगलबार कोशी प्रदेशमा कांग्रेसको विशेष महाधिवेशन इतर पक्षको भेला भएको थियो। विराटनगरको एक होटलमा आयोजित भेलामा दलका नेता तथा कोशी प्रदेश सभापति उद्धव थापा भने सहभागी थिएनन्। थापाले गुट परिवर्तन गरेसँगै केदार कार्की, भुपेन्द्र राई, भीम पराजुलीलगायत विशेष महाधिवेशनको इतर पक्षका नेताहरू दलको नेताबाट थापालाई हटाउन लागेको स्रोत बताउँछ।
कांग्रेसमा अन्तरद्वन्द्व चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली भने वामपन्थी एकताको मुडमा पुगेको स्रोतको दाबी छ। सोही अनुसार सबै प्रदेशमा वामपन्थीको सरकार बनाउनुपर्ने विषयमा विभिन्न दूतमार्फत नेकपाका अध्यक्ष प्रचण्डलाई प्रस्ताव पठाएको कोशी प्रदेशकै नेकपाका एक नेता बताउँछन्।
प्रचण्डले भने वामपन्थीहरूको मात्रै सरकार बनाउने भन्दा शान्ति प्रक्रिया र वर्तमान संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेका दलहरूको संयुक्त सरकार बनाउनु पर्ने बताएको ती नेताको दाबी छ। एमालेभित्र पनि ओलीइतर समूह भने वामपन्थी एकताभन्दा अहिले प्रदेश सरकारमा रहेकै कांग्रेस एमालेको समीकरण कायम राख्नुपर्नेमा रहेको बताइन्छ।
कांग्रेस बजेट (असार १) अगाडि नै सरकार बदल्न चाहन्छ, तर एमाले आलटाल गरिरहेको स्रोत बताउँछ। यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशमा वामपन्थी सरकार बनाउन प्रचण्डलाई प्रस्ताव पठाएका छन्।
