कोशी प्रदेश सरकारले आज दिउँसो ३ बजे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख परशुराम खापुङले बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्नेछन्।
यसपटकको नीति तथा कार्यक्रममा सरकारी स्तरबाटै लागूऔषध सुधार केन्द्र स्थापना गर्ने योजनालाई प्राथमिकता दिइएको छ। हाल निजी क्षेत्रबाट मात्र सञ्चालित यस्ता केन्द्रहरू प्रदेशका दुई स्थानमा सरकारी स्तरमा विस्तार गरिनेछ।
आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीका अनुसार, विगतमा कोभिड–१९ महामारीका बेला निर्माण गरिएका क्वारेन्टाइन स्थलहरूलाई सुधार केन्द्रका रूपमा प्रयोग गरिनेछ।
पहाडी क्षेत्रबाट बढ्दो बसाइँसराइ नियन्त्रण गर्नु सरकारको अर्को मुख्य एजेन्डा हो। पहाडबाट हुने पलायन रोक्न र नागरिकलाई थातथलोमा बस्न प्रोत्साहन गर्ने उद्देश्य छ।
यसका लागि पहाड केन्द्रित पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाका कार्यक्रम ल्याइनेछ। मन्त्री पराजुलीले पहाडी क्षेत्रमा औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउने लक्ष्य रहेको बताए।
