कृषि, वन तथा पर्यावरण मन्त्रालयले १ लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको घोषणा गर्दै तत्काल अभाव नरहेको स्पष्ट पारेको छ।
मंगलबारको पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख डा. रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेको बताए। पश्चिम एसियाको द्वन्द्वले टेन्डर भइसकेको मल आउन ढिलाइ भएको उनले जानकारी दिए।
सहसचिव श्रेष्ठले ‘स्ट्रेट अफ होर्मुज’ मा अवरोध खुल्ने बित्तिकै ४ लाख ९१ हजार मेट्रिक टन टेन्डर गरिएको मल भित्रिने विश्वास व्यक्त गरे। द्वन्द्वले विगत वर्षका तुलनामा मलको भाउ बढेको मन्त्रालयले जनायो।
रासायनिक मलको अनिश्चित आपूर्तिले प्राङ्गारिक मल उपयोग गर्न सहसचिव श्रेष्ठले आह्वान गरे। किसानलाई रासायनिक मल मात्र नभई माटोको स्वास्थ्य जोगाउन पनि उनले अनुरोध गरे।
