NM Khabar 13 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अमेरिका लैजाने प्रलोभनमा डेढ करोड असुली, वडाध्यक्षसहित दुई जना पक्राउ

स्याङ्जाका वडाध्यक्ष शिवबहादुर थापा अमेरिका लैजाने प्रलोभनमा १ करोड ४२ लाख रुपैयाँ असुली गरेको आरोपमा पक्राउ परेका छन्। पीडितलाई विभिन्न देश हुँदै अवैध रूपमा अमेरिका लैजाने क्रममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको थियो। अर्को घटनामा लोकमान खत्री बेलायत पठाउने भन्दै ६५ लाख ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
Arjun Basnet
Arjun Basnet
13 May 2026, 3:02 pm १ मिनेट पढाइ
आकार:
मानव बेचबिखन ठगी
Share:

अमेरिका लैजाने प्रलोभनमा डेढ करोड रुपैयाँभन्दा बढी असुली गरेको आरोपमा स्याङ्जाका वडाध्यक्ष शिवबहादुर थापासहित दुई जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा र दाङको शान्तिनगर गाउँपालिका–३ का २६ वर्षीय लोकमान खत्री रहेका छन्। थापामाथि एक महिलालाई अमेरिका लैजाने भन्दै १ करोड ४२ लाख रुपैयाँ असुली गरेको आरोप छ।

ब्यूरोका अनुसार थापाले सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मार्फत पीडित महिलासँग चिनजान गरी ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने प्रलोभन दिएका थिए। २०७८ वैशाख ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याई उनलाई एक महिनासम्म ग्रान्ड नोभा होटलमा राखिएको थियो।

दुबईमा अमेरिका भिसा प्रक्रिया मिलाइदिने भन्दै एजेन्टमार्फत पीडितबाट ३५ हजार दिराम (करिब ८ लाख रुपैयाँ), राहदानी र फोटो लिइएको प्रहरीले जनाएको छ। त्यसपछि भिजिट भिसामा पीडितलाई दुबईबाट बहराइन, टर्की, ब्राजिल, पेरु हुँदै कोलम्बिया पुर्‍याइएको थियो।

अमेरिका लैजाने आश्वासन देखाउँदै पीडितलाई एक वर्षसम्म विभिन्न स्थानमा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको ब्यूरोले बताएको छ। पीडितमाथि जबर्जस्ती करणीसमेत भएको प्रहरीको भनाइ छ।

नेपाल फर्काइदिन आग्रह गर्दा थापाले थप रकम मागे। पीडितले अमेरिकामा रहेका साथीमार्फत् ९८ हजार ९ सय अमेरिकी डलर (करिब १ करोड ४२ लाख रुपैयाँ) पठाएकी थिइन्। यो रकम विभिन्न विदेशी बैंक खाता र वेस्टर्न युनियन मनी ट्रान्सफरमार्फत पठाइएको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि एजेन्टमार्फत पीडितलाई कोलम्बियाबाट पानामाको जंगल हुँदै मेक्सिकोको तापाचुला बोर्डरसम्म पुर्‍याइएको थियो। त्यहाँबाट नेपाल फर्किन थप २० हजार डलर माग गरिएको र रकम दिन नसकेपछि पीडितलाई मेक्सिकोमै अलपत्र पारिएको प्रहरीले जनायो।

अन्ततः पीडित अमेरिकास्थित आफन्त र नेपाली दूतावासको सहयोगमा ‘वन वे ट्राभल डकुमेन्ट’ बनाएर गत वैशाख २ गते नेपाल फर्किन सफल भएकी थिइन्। उक्त घटनामा संलग्न थापालाई प्रहरीले गत वैशाख २८ गते पोखरा महानगरपालिका–१७ बाट पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको छ।

यस्तै, अर्को घटनामा लोकमान खत्रीले बेलायत पठाइदिने भन्दै एक व्यक्तिबाट ६५ लाख २६ हजार ७ सय ८० रुपैयाँ ठगी गरेको आरोप लागेको छ। उनले शुरूमा २५ लाख रुपैयाँमा भिजिट भिसामा बेलायत पठाउने र पछि ‘वर्किङ भिसा’मा परिवर्तन गरी मासिक २ लाख रुपैयाँसम्म आम्दानी हुने काममा लगाइदिने आश्वासन दिएका थिए।

खत्रीले शुरूमा ४ लाख रुपैयाँ आफ्नो खातामा जम्मा गराएका थिए। पछि बेलायतको भिसा नआएको भन्दै अमेरिका पठाइदिने प्रस्ताव राखेर थप ४५ लाख रुपैयाँ माग गरेका थिए। त्यसपछि पीडितलाई दुबई, भारत, कतार, स्पेन, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, हन्डुरस र मेक्सिको हुँदै अवैध रूपमा अमेरिका पुर्‍याइएको थियो।

अमेरिकी प्रहरीले अवैध रूपमा अमेरिका प्रवेश गरेको आरोपमा ती व्यक्तिलाई पक्राउ गरी १४ महिनासम्म जेलमा राखेको थियो। त्यसपछि उनलाई २०८२ चैत २४ गते डिपोर्ट गरी नेपाल पठाइएको थियो।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेको आरोपमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय सल्यानसँगको समन्वयमा गत वैशाख २८ गते पक्राउ गरिएको ब्यूरोका एसपी राजन लिम्बूले जानकारी दिए। प्रहरीका अनुसार खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा यसअघि पनि ठगी मुद्दा दर्ता भएको थियो र उनी ३ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका थिए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

Nmkhabar का राजनीतिक अनुसन्धान संवाददाता। भ्रष्टाचार, सम्पत्ति विवरण र शासकीय जवाफदेहिताका विषयमा विशेष दक्षता राख्छन्।

सम्बन्धित समाचार