सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा लगातारको पहिरोले चीनसँगको प्रमुख व्यापारिक मार्ग अरनिको राजमार्ग दुई सातादेखि पूर्ण रूपमा अवरुद्ध छ। पहिरोका कारण सडक मर्मत कार्य सुरु हुन सकेको छैन। यसले सीमावर्ती बासिन्दा र चीनबाट आयात-निर्यात गर्ने व्यवसायीहरूलाई सास्ती भएको छ।
राजमार्गभन्दा माथिल्लो क्षेत्रको बस्तीसमेत पहिरोको जोखिममा छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारीको ‘इको पहिरो’ र डाक्लाङ क्षेत्रमा पहिरो गएपछि राजमार्ग ठप्प भएको हो। सडक डिभिजन कार्यालय चरिकोटका अनुसार दुवै स्थानमा तत्काल सडक सञ्चालन सम्भव छैन।
सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर अर्जुन नेपालीले पहिरो क्षेत्रमा मर्मत सुरु नभएको बताए। लगातार पानी बगिरहेकाले कामदार र उपकरण परिचालन जोखिमपूर्ण छ। ‘पानीको निकासको दीर्घकालीन समाधान नखोज्दा मर्मत कठिन छ,’ नेपालीले भने। पहिरो प्रभावित बस्तीको व्यवस्थापन र बासिन्दाको सुरक्षा पेचिलो बनेको छ।
डाक्लाङ क्षेत्रमा सडक डिभिजनले मर्मत थाले पनि स्थानीयको तीव्र विरोध छ। बस्ती जोखिममा रहेको भन्दै स्थानीयले घरजग्गाको सुरक्षाको ग्यारेन्टी नभएसम्म काम रोक्ने अडान लिएका छन्।
गत साउन ९ गते पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानुनमन्त्री सोविता गौतमसहितको टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो। मन्त्री लम्सालले जोखिममा परेका बस्ती स्थानान्तरण र सम्पत्तिको सुरक्षाको जिम्मेवारी सरकारले लिने आश्वासन दिए। तर, उनको उक्त अभिव्यक्तिको आलोचना भयो।
गत मंसिरमा इको पहिरो नियन्त्रण र राजमार्ग सुधारका लागि ४८ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। चिनियाँ टोलीले अवलोकन गरेपछि न चीनबाट काम सुरु भयो, न नेपाली ठेकेदारले कामलाई निरन्तरता दिन सक्यो।
