अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटसँगै प्रस्तुत गरिएको आर्थिक विधेयकमा गम्भीर गैरकानुनी हेरफेर गरेको पाइएको छ। अर्थमन्त्रालयले विभिन्न समयमा विधेयकका पानाहरू गोप्यरूपमा परिवर्तन गरी ११ पृष्ठ हटाएको तथ्य बाहिर आएको छ।
जेठ १५ गते सदनमा बजेट प्रस्तुत गरेपछि अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक पनि प्रस्तुत गरेका थिए। अर्थमन्त्रालयले सोही दिन विधेयक वेबसाइटमा सार्वजनिक गर्यो। तर, त्यसपछि गोप्यरूपमा थप दुईपटक विधेयक परिमार्जन गरिएको छ।
अर्थविद् डा. गोविन्द नेपालका अनुसार, संसदमा पेश भइसकेको आर्थिक विधेयकलाई परिमार्जन गर्ने अधिकार मन्त्रिपरिषद्लाई मात्र हुन्छ। यसरी गरिएका परिमार्जनबारे मन्त्रिपरिषद्को कुनै निर्णय सार्वजनिक भएको छैन।
अर्थमन्त्री वाग्लेले विधेयकका विभिन्न व्यवस्थालाई पटक–पटक परिमार्जन गरी स्वार्थ समूहको माग बमोजिम हेरफेर गरेको आशंका छ। यद्यपि, यस विषयमा सत्तापक्ष वा प्रतिपक्षले अहिलेसम्म संसदमा आवाज उठाएका छैनन्।
हाल अर्थमन्त्रालयको वेबसाइटमा ४५० पृष्ठको विधेयक राखिएको छ। यसअघि ४६१ र ४५९ पृष्ठका विधेयकहरू अपलोड गरिएका थिए। हटाइएका ११ पृष्ठहरूमा पेट्रोलियम पदार्थमा लाग्ने हरित कर, विद्युतीय सवारी साधनमाथिको कर, एचएसकोडको सूची लगायतका विषयहरू समावेश थिए।
