विजया दशमीको मुख्य दिन बडादसैँको टीका आज बिहान १०:२६ बजेको उत्तम साइतमा सुरु भएको छ। मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम जारी छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि उक्त समय तोकेको थियो। यद्यपि, विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन साइत खोज्नु नपर्ने र आज बिहानदेखि दिनभर नै बडादसैँको टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ।
टाढाटाढाबाट टीका थाप्न आउने नागरिकहरूले बिहान दुर्गा बिसर्जन गरेपछि नै टीका लगाउन सुरु गरेका थिए। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने धार्मिक विश्वास छ। त्यसैले, मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने चलन छ। देवी विसर्जनको साइत आज बिहान ०८:४९ बजेका लागि समितिले तय गरेको थियो।
टीका र यात्राको सहजता
काठमाडौँ उपत्यकाभित्र र बाहिर टीका लगाउन जानेहरूको चहलपहल बढेको छ। घरमा टीका लगाएर कतिपय सर्वसाधारण काठमाडौँ बाहिर जानका लागि पनि निस्किएका छन्। टीकापछि काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका छन्।
यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपरेको थियो। कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोर्याउनुपरेको थियो। अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ, जसले गर्दा विजयादशमीका दिनमा १० रात्रिका जमरा लगाइने भएको छ।
धार्मिक मान्यता र निरन्तरता
दसैँ हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण चाड हो, जुन शक्ति, समृद्धि, पारिवारिक एकता र धार्मिक आस्थाको प्रतीक मानिन्छ। यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाइन्छ। घटस्थापनाका दिन घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जमरा राखिन्छ। जमरा जौको अंकुर हो र यसलाई दुर्गा देवीको प्रिय वस्तु मानिन्छ।
विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा मान्यजनबाट रातो टीका र जमरा लगाएर आशीर्वाद थापेर मनाइन्छ। आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन पनि छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्। कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैँ समापन हुनेछ।
टीका लगाइदिने मान्यजन पूर्व र टीका थाप्ने व्यक्ति पश्चिम दिशा फर्केर बस्नुपर्ने धार्मिक मान्यता रहेको छ। यस वर्ष शुक्र अस्त भएकै कारण दसैँ मनाउनु हुँदैन भन्ने प्रचार शास्त्रसम्मत नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्पष्ट पारेको छ। समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईका अनुसार शारदीय नवरात्र आश्विन शुक्ल पक्षको वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्तले चाड मनाउन फरक पर्दैन।
