NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाँदर आतङ्कले अन्नबाली सखाप, किसानले थापे अकबरे खुर्सानीको विकल्प

• बागलुङका किसान बाँदरको आतङ्कले परम्परागत खेती छाडेर अकबरे खुर्सानी र अदुवा खेतीतर्फ लागेका छन्। • गाउँघरमा बसाइँसराइ बढेसँगै बाँदरको समस्या झनै विकराल बनेको छ। • यस वर्ष रायडाँडामा ७५ किसानले ४० हजार अकबरे खुर्सानीका बिरुवा रोपेका छन्।
Maya Thapa
Maya Thapa
13 June 2026, 11:48 am १ मिनेट पढाइ
आकार:
बाँदर आतङ्क र खेती
Share:

बागलुङका किसान बाँदरको आतङ्कले परम्परागत अन्नबाली र फलफूल खेती छाडेर अकबरे खुर्सानी जस्ता विकल्पमा आकर्षित भएका छन्। गाउँघरमा बसाइँसराइले सुनसान बढेपछि बाँदरको समस्या झनै जटिल बनेको छ।

मकै, गहुँ, कोदो र फापर जस्ता खाद्यबाली बाँदरले खेतबारीमै नष्ट गरिदिने गरेपछि किसानले बाँदरले नसक्ने बाली लगाउन थालेका हुन्। काठेखोला गाउँपालिका–८ का प्रेमप्रसाद कँडेलले मकै पाक्ने बेलामा बाँदरले सताउने गरेकाले यस वर्ष मकै नलगाई अकबरे खुर्सानी लगाएको बताए। उनले अकबरे खेतीको बजार राम्रो पाएको र बाँदरले यसलाई खासै क्षति नपुर्‍याउने विश्वास व्यक्त गरे।

“बाँदरले बारीको मात्रै होइन, घरको बार्दलीमा आएर अन्नबाली नष्ट गरिदिन्छ,” कँडेलले भने, “अब गहुँ, मकै लगाएर त भित्र्याउनै नदिने भयो। बाँदर मार्न पनि पाइँदैन। हामीलाई दिनरात दुःख दिएको छ, केही विकल्प त खोज्नै प¥यो।”

बागलुङ नगरपालिका–११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमका अनुसार बाँदरले सताएपछि स्थानीय किसान अकबरे र अदुवा खेतीतर्फ लागेका छन्। यस वर्ष रायडाँडामा मात्रै ४० हजार अकबरेका बिरुवा रोपिएको छ। वडाध्यक्ष गौतमले बाँदरको नियन्त्रणका लागि योजना बनाइरहेको बताए।

“बाँदरले धेरै दुःख दिएपछि यस वर्ष अकबरेखेती गर्न सुरु गरेका छौँ, यो एक परीक्षण पनि हो,” गौतमले भने, “राम्रो भयो भने आगामी वर्ष वडाभरि अकबरे लगाउने योजना छ। यो खेतीले किसानलाई केही राहत दिन्छ भन्ने अपेक्षा छ।”

स्थानीय तमबहादुर थापाले पनि बाँदरले तरकारीबाली पनि नछाड्ने भएकाले यसपालि अकबरे खुर्सानी लगाएको बताए। उनले सरकारले बाँदर नियन्त्रणका लागि ठोस नीति नल्याएसम्म किसानले राम्रो उत्पादन गर्न नसक्ने धारणा राखे।

रायडाँडामा यस चरणमा ७५ जना किसानले अकबरे खुर्सानी उत्पादनमा लागेका छन्। ४० हजार बीउबाट ४० हजार बिरुवा उत्पादन गरिएको छ। यो योजना सफल भएमा बाँदरको आतङ्क भएका अन्य गाउँमा पनि यसको विस्तार गर्न सकिनेछ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार