बागलुङको बडिगाड गाउँपालिकामा एसियाकै पहिलो हरित हाइड्रोजन ग्यास उत्पादन सफल भएको छ। एक किलो हाइड्रोजनले चार किलो एलपीजी ग्यासको काम गर्छ। खेर गइरहेको बिजुली र पानी प्रयोग गरी उत्पादन गरिएको यो ग्यास अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको छ। यसले एलपीजी र दाउराको विकल्पको रूपमा ठूलो सम्भावना बोकेको छ।
यो नमुना परियोजना तीन वर्षअघि सुरु भएको अध्ययनको परिणाम हो। बडिगाड गाउँपालिका-२ स्थित गिरङ्दीखोला लघु जलविद्युत सहकारी संस्था लि.को ७५ किलोवाट क्षमताको बिजुलीबाट हाइड्रोजन उत्पादन गरिएको छ। इनोभेट युकेको आर्थिक सहयोगमा एक एण्ड एओ लिमिटेड युके, स्वीय युनिभर्सिटी एचएसएलयु, इन्भेष्ट इन ग्रीन युके, जेट इन्जिनियरिङ युके, नेपाल इनर्जी फाउन्डेसन, उर्जा र वातावरणका लागि महिला सञ्जाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, बडिगाड गाउँपालिका र गिरङ्दीखोला लघु जलविद्युत सहकारी संस्था लि.को साझेदारीमा यो परियोजना सम्पन्न भयो।
नेपाल इनर्जी फाउन्डेसनका कार्यकारी व्यवस्थापक डिल्ली घिमिरेका अनुसार, इनोभेट युकेले परियोजनाका लागि झण्डै एक करोड रुपैयाँ सहयोग गर्यो। कुल खर्च यकिन नभए पनि अन्य अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूले पनि खोज अनुसन्धानमा लगानी गरेका छन्।
नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार, हाइड्रोजन उत्पादन संसार र नेपालमा नयाँ होइन। तर, खाना पकाउने प्रयोजनका लागि यो पहिलो पटक भएको हो। दुई वर्षअघि काठमाडौं विश्वविद्यालयमा प्रारम्भिक परीक्षण सफल भएको थियो। त्यसपछि स्थानीयसँग बसेर खाना पकाउने कार्यको परीक्षण गरियो। मानन्धरले चार किलो एलपीजी ग्यासले गर्ने काम एक किलो हाइड्रोजन ग्यासले गर्ने बताए। उनले थप खोज अनुसन्धान र सरकारको लगानीले दाउरा र एलपीजी ग्यासलाई विस्थापन गर्न सक्ने सम्भावना औंल्याए।
उर्जा र वातावरणका लागि महिला सञ्जालका अध्यक्ष कला तिमिल्सीनाले हरित हाइड्रोजनको भान्छामा प्रयोगले महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताइन्। यसलाई सर्वसुलभ र सरल बनाउन सके महिलाका समस्या समाधान हुने उनको भनाइ छ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले परियोजना उद्घाटन गर्दै परीक्षण सफल भएकोमा खुसी व्यक्त गरे। उनले यसको थप अनुसन्धान र विकासका लागि प्रदेश सरकारले स्थानीय तह र संघ सरकारसँग समन्वय गर्ने बताए। बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले नमुना परीक्षण सफल भएकाले अब नेपाल सरकारले यसको अपनत्व लिनुपर्नेमा जोड दिइन्। उनले हरित हाइड्रोजनको उत्पादन र बिक्री वितरणका लागि ऐन कानुनको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइन्।
अधिकारीका अनुसार, सरकारले प्रविधि र सिलिन्डर सर्वसुलभ बनाए बडिगाडका १४ वटा हाइड्रोपावरबाट हरित हाइड्रोजन उत्पादन गर्न सकिन्छ। अहिले ५० किलोको सिलिन्डरमा जम्मा एक किलो हाइड्रोजन ग्यास भर्ने गरिएको छ। यो आम उपभोक्तासम्म पुर्याउन अझै गाह्रो छ। यसका लागि सरकारले थप अनुसन्धान र लगानी गर्नुपर्ने आवश्यकता छ।
