दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा शनिबार बिहान ३८ वर्षीय अम्मर सलामी मगरले बञ्चरो प्रहार गर्दा १२ वर्षीय तपेन्द्र सलामी र ३ वर्षीया करिस्मा सलामीको मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्न अम्मरलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, अम्मर सलामी मगरले शनिबार बिहान करिब ९ः३५ बजे आफ्नी श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर र तीन सन्तानमाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेका थिए। बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका चारै जनालाई उपचारका लागि दुल्लुस्थित नगर अस्पताल पठाइएको थियो।
नगर अस्पताल दुल्लुमा चिकित्सकले शनिबार बिहान ११:१० बजे तपेन्द्र र करिस्मालाई मृत घोषणा गरेका थिए।
गम्भीर घाइते मनिषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामी मगरलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको दैलेख प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा अम्मर सलामी मगरले घरायसी विवादका कारण आफ्नै परिवारमाथि बञ्चरो प्रहार गरेको खुलेको छ। घटनामा प्रयोग भएको बञ्चरो बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
अब के हुन्छ
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।