बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले सोमबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नेछन्।
मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेका छन्। कांग्रेसले प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ। राप्रपाले पनि मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। यद्यपि, पार्टी केन्द्रको निर्देशनविपरीत मन्त्री बनेका तीन सांसदले विश्वासको मत दिने सम्भावना छ।
सत्ता साझेदार नेकपाले आफ्ना प्रदेश सांसदलाई विश्वासको मत दिन आज प्रदेशसभामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। मुख्यमन्त्री थापाका पक्षमा मत दिन नेकपाले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो।
नेकपाभित्रको असन्तुष्टि मुख्यमन्त्री थापाका लागि चुनौती बनेको छ। नेकपाका केही सांसद मन्त्री नियुक्ति र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्ट छन्। सहमति कार्यान्वयन नभएको, मन्त्री नियुक्तिमा सबै पक्षलाई समेट्न नसकेको तथा मन्त्रालय बाँडफाँटमा असन्तुलन भएको भन्दै उनीहरू रुष्ट भएका हुन्।
यसका कारण नेकपाभित्र विवाद देखिएको छ। आइतबार बसेको नेकपा प्रदेश संसदीय दलको बैठकमा १३ सांसद सहभागी भएनन्। मुख्यमन्त्री पदका लागि प्रयास गरेका गंगानारायण श्रेष्ठलगायत १३ सांसद संसदीय दलको बैठकमा नगएका हुन्। नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलसँग उनीहरू रुष्ट भएर बैठकमा उपस्थित नभएका हुन्।
मुख्यमन्त्री थापाले नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा सरकार गठनका लागि दाबी पेस गरेका थिए। त्यसबेला तीन दलका गरी ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी गरिएको थियो।
१०४ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदले मत दिनुपर्छ। एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद मात्रै मुख्यमन्त्रीका पक्षमा देखिन्छन्। राप्रपाका १२ सांसदमध्ये केन्द्रको ह्विपविपरीत मन्त्री बनेका तीन जनाले मत दिएमा मुख्यमन्त्री थापालाई विश्वासको मत पुग्नेछ।
आजको मतदानमा राप्रपाका सांसदको भूमिका र नेकपाभित्रको असन्तुष्टि निर्णायक बन्न सक्ने देखिएको छ। राप्रपाको समर्थनका विषयमा सरकार गठनकै बेलादेखि विवाद छ।
