NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सीईओ पाण्डे पक्राउपछि बैंकर संघको आकस्मिक बैठक, धितो लिलामीमा सुरक्षा प्रश्न

एनआईएमबी बैंकका सीईओ ज्योति प्रकाश पाण्डेय पक्राउ परेपछि नेपाल बैंकर संघले आकस्मिक बैठक बोलाएको छ। धितो लिलामीको कानुनी अधिकार प्रयोग गरेको विषयमा बैंकर पक्राउ परेपछि संघले सुरक्षा प्रश्न उठाएको छ। संघले घटनाको विरोध वा कानुनी बाटो रोज्नेबारे निर्णय लिनेछ।
Sunita Rai
Sunita Rai
14 May 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
बैंकर संघ बैठक, सीईओ पक्राउ, धितो लिलामी
Share:

एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेयलाई ‘ठगी तथा आपराधिक विश्वासघात’ आरोपमा पक्राउ गरेपछि नेपाल बैंकर संघले आकस्मिक बैठक बोलाएको छ। धितो लिलामीको कानुनी अधिकार प्रयोग गरेकै कारण बैंकर पक्राउ परेपछि संघले सुरक्षा प्रश्न उठाएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सीईओ पाण्डेयलाई ‘ठगी तथा आपराधिक विश्वासघात’सम्बन्धी कसुरको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको उल्लेख गरेको छ। बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाले यस घटनाले बैंकिङ क्षेत्रमा त्रास फैलिएको बताए।

बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले यो मुद्दालाई फौजदारी प्रकृतिको कसुर भन्दै प्रहरीले पक्राउ गरेको विषयमा संघले आफ्नो धारणा स्पष्ट पार्न र थप रणनीति तय गर्न छलफल गर्ने जानकारी दिए। बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) र अन्य विद्यमान कानुनले बैंकलाई ऋण नतिरेको खण्डमा धितो लिलामी गरेर असुल गर्ने स्पष्ट अधिकार दिएको उनको भनाइ छ।

अध्यक्ष कोइरालाकाअनुसार बैंकले सर्वसाधारणको निक्षेप लिएर कारोबार गर्ने भएकाले ऋण डुब्नु भनेको सर्वसाधारणकै हित विपरीत हुने तर्क गरे। उनले भने, “बैंकले पब्लिककै पैसा चलाउने हो, त्यसैले ऋण उठाउन पाउनु बैंकको पहिलो अधिकार हो। यदि धितो लिलामी प्रक्रियालाई नै लिएर बैंकर पक्राउ गर्नुपर्ने अवस्था हो भने यो अत्यन्त दुखद र दुर्भाग्यपूर्ण हुन्छ।”

सीआईबीको पत्रमा ‘आपराधिक विश्वासघात’ भन्ने शब्द उल्लेख गरिए पनि त्यसलाई कुन आधारमा परिभाषित गरेर पक्राउ गरिएको हो भन्नेमा बैंकरहरु अन्योलमा छन्।

आज बस्ने बैंकर संघको बैठकले यस घटनाको आधिकारिक विरोध गर्ने वा अन्य कानुनी बाटो रोज्ने भन्नेबारे निर्णय लिनेछ। अनुसन्धान गर्ने निकायले यसलाई अन्य कुनै पाटोबाट हेरेको भए त्यो छुट्टै विषय भए पनि प्रक्रियागत लिलामीलाई लिएर गरिएको हस्तक्षेप स्वीकार्य नहुने कोइरालाको तर्क छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार