रौतहटको बौधिमाई नगरपालिकाभित्रै मेयर प्रदीप यादवले शिक्षक रामबाबु यादवलाई घण्टौँ नियन्त्रणमा लिई कुटपिट गरेको दाबी सार्वजनिक भएको छ।
शंकर गुदर मावि, सरमुजवाका शिक्षक रामबाबु यादवले दाबी गरेका छन्। उनलाई नगरपालिका कार्यालयभित्रै दिउँसो २:३० बजेदेखि राति ९ बजेसम्म थुनियो। सो अवधिमा गालीगलौज, मानसिक यातना र निर्घात कुटपिट गरियो। ज्यान मार्ने धम्की समेत दिइएको आरोप छ।
शिक्षक यादवका अनुसार लेखापाल रमेश यादवले शुक्रबार छलफलका लागि बोलाए। मेयर प्रदीप यादव, वडाध्यक्ष विन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जयसवालसहितको समूहले उनलाई कोठाभित्र नियन्त्रणमा लियो।
घटनापछि न्यायको खोजीमा प्रहरी पुगेका शिक्षक यादवले हालसम्म प्रभावकारी सुनुवाइ नभएको गुनासो गरे। स्थानीयवासीले पनि घटना सार्वजनिक भएपछि ठोस कारबाही नभएको भन्दै आक्रोश पोखेका छन्।
रौतहट प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले लिखित निवेदन परेको पुष्टि गरे। शिक्षक यादवको घाउ जाँचसम्बन्धी केस फारमसमेत गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
मेयर प्रदीप यादवले कुटपिट वा थुनछेकसम्बन्धी सम्पूर्ण आरोप खण्डन गरेका छन्। उनले शिक्षक रामबाबु यादवले यसअघि सामाजिक सञ्जालमार्फत जनप्रतिनिधिविरुद्ध अभद्र टिप्पणी गरेको बताए।
मेयर यादवका अनुसार शिक्षकले “म्यादी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, म्यादी वडाध्यक्ष, म्यादी मेयर, तिमीहरूलाई थोरै पनि नैतिकता छ भने आ-आफ्नो पदबाट राजीनामा देऊ” भन्ने पोस्ट गरेका थिए। सोही विषयमा स्पष्टीकरण मागियो। कार्यपालिका बैठकमा सोधपुछका लागि बोलाइएको मेयरको भनाइ छ।
मेयर यादवले “उहाँलाई नैतिकताको पाठ सिकाइएको हो, तर थुनछेक वा कुटपिट गरिएको होइन” भन्ने दाबी गरेका छन्।
स्थानीयका अनुसार मेयर प्रदीप यादवमाथि यसअघि पनि आरोप लागेका छन्। कर्मचारीमाथि कुटपिट र सार्वजनिक दुर्व्यवहारका घटना भएका छन्। स्वास्थ्यकर्मीलाई शौचालयमा थुन्ने, शिक्षकलाई हातपात गर्ने, योजना प्रमुखलाई डोरीले बाँध्ने जस्ता घटनामा समेत उनी विवादित छन्।
केही दिनअघि मधेश प्रदेशकी रानी शर्मा तिवारीसँग पनि उनको विवाद भयो। मन्त्रालय परिसरमा भएको उक्त विवादपछि प्रहरीले उनलाई बाहिर निकाल्यो। यो विषय सामाजिक सञ्जालमा समेत फैलिएको थियो।
बारम्बार यस्ता आरोप सार्वजनिक भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ।
