भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुर्याएको छ। बाढीले चालक, सहचालक र यात्रु गरी ३४४ जना बेपत्ता भएको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
महासंघका महासचिव डेकनाथ गौतमका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुग्दा ५० मजदुर बेपत्ता भए। नमस्ते पासाङ ल्हामु यातायात बालाजुका १९ बसमा क्षति हुँदा २१ जना, भक्तपुर न्यू भिजन यातायातका दुई कन्टेनरमा क्षति पुग्दा दुई चालक बेपत्ता भए।
हिमालयन यातायातका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुग्दा १० चालक बेपत्ता भए। नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गत सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति हुँदा ४५ चालक बेपत्ता भए।
नारायणी यातायातका ५९ ट्रक र कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भए। नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा क्षति पुग्यो। पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ यात्रु बेपत्ता भए। धादिङ मण्डली यातायातको एक बसमा क्षति पुग्दा एक चालक र २५ तीर्थयात्री बेपत्ता भएको गौतमले बताए।
काठमाडौँ विश्वविद्यालयले बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८५ लाख रुपैयाँ सहयोग गर्यो। विश्वविद्यालयका रजिस्ट्रार डा. विराजसिंह थापाका अनुसार यो रकम कार्यकारी परिषद्को निर्णयबमोजिम जम्मा भएको हो। विश्वविद्यालय प्राध्यापक सङ्घले २५ हजार रुपैयाँ जम्मा गर्यो।
रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत १७० भन्दा बढी इन्जिनियर तथा प्राविधिक बाढीका कारण बेपत्ता छन्। नेपाल इन्जिनिङ एसोसिएसनका अनुसार १२ भन्दा बढी आयोजनाबाट १७० भन्दा बढी प्राविधिक हराइरहेका छन्। १८८ प्राविधिक हराइरहेकोमा १७ जनाको शव पहिचान भइसकेको छ।
