भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षण, औँठाछाप र फोटो भिडान गरी तीन विधि अपनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले दिएको जानकारीअनुसार, फेला परेका शवबाट सङ्कलित नमुनाको डिएनए परीक्षण केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नास्टमा भइरहेको छ।
शव पहिचानमा सहयोग गर्न भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन्। प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार प्रयोगशालामा भारतीय र चिनियाँ टोलीले सघाइरहेका छन्।
डिएनए परीक्षणका लागि चारवटा मेसिन सञ्चालनमा छन्। यी मेसिनले तयारीपश्चात ९० मिनेटमा एउटा नतिजा दिन्छ। मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्न चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सक बताउँछन्। अङ्गहरूलाई धुलो बनाएर विशेष केमिकलमा राखी ७२ घण्टापछि मात्रै परीक्षण प्रक्रिया अघि बढाइन्छ।
शनिबार अपराह्नसम्म फेला परेका १,२३० वटा शवको पहिचान प्रक्रिया पूरा गरी माटोमुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १,२८६ र आफन्तका १,७७९ गरी कुल ३,०६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। प्रहरीको विधिविज्ञान प्रयोगशालाको वार्षिक ४०० डिएनए परीक्षण क्षमता छ। अहिले दैनिक २५–३० वटा नमुना परीक्षण भइरहेका छन्। प्रहरीले भदौ १३ गतेदेखि डिएनए नमुना सङ्कलन सुरु गरेको थियो। हालसम्म करिब ४०० बढी नमुनाको परीक्षण भएको छ।
कतिपय नमुनाको पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउन सक्ने विज्ञको भनाइ छ। हड्डी र दाँतबाट निकालिएका करिब ३० प्रतिशत नमुनाको नतिजा दोहोर्याएर परीक्षण गर्नुपर्ने हुनसक्छ। परीक्षणलाई तीव्रता दिन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी छ। मेसिन ल्याइएको छ र एक हप्ताभित्र सञ्चालनमा आउने अपेक्षा छ।
डिएनए ‘म्याचिङ’ गर्न ‘कम्बाइन्ड डिएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोग गरिएको छ। यो सफ्टवेयरले मृतक र आफन्तका डिएनए रिपोर्टहरूलाई स्वचालित रूपमा ‘म्याच’ गर्छ। पहिचानपछि आवश्यक कागजातका आधारमा शव सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिनेछ।
डिएनए परीक्षणको काम जतिसक्दो चाँडो सम्पन्न गर्न प्रहरीका सम्पूर्ण जनशक्तिलाई बिदा नदिई २४सै घण्टा ड्युटीमा खटाइएको छ। यो प्रक्रिया खर्चिलो र समय लाग्दो भए पनि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गरेको छ। शव फेला पर्ने क्रम बढ्दो रहनु र आवश्यक उपकरण तथा जनशक्तिको अभावले प्रहरीलाई चुनौती थपिएको छ।
प्रहरीले औँठाछाप र फोटो भिडान विधि पनि अपनाएको छ। हराएका व्यक्ति र फेला परेका शवको फोटो मिलान गर्न ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ सफ्टवेयर विकास गरिएको छ। केही शवको औँठाछाप लिइएको छ। राष्ट्रिय परिचयपत्रलगायतका प्रणालीबाट प्राप्त जैविक विवरणसँग मिलाएर पहिचानको प्रयास भइरहेको छ। यो विधि कम खर्चिलो र छरितो भए पनि हात नभएका वा गलेका शवबाट औँठाछाप लिन सम्भव छैन।
