NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वीरगञ्ज भन्सारमा कबुलियतपछि जाँचपास सुचारु, राजस्व संकलनमा वृद्धि

वीरगञ्ज भन्सार कार्यालयमा अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनलाई लिएर आयातकर्ता र भन्सारबीच विवाद हुँदा रोकिएको जाँचपास प्रक्रिया पुनः सुरु भएको छ। आयातकर्ताले एमआरपी आफैं घोषणा गर्ने र गोदाममा पुर्‍याएर तोक्ने कबुलियत गरेपछि बुधबारदेखि प्रक्रिया सुचारु भएको हो। यसले राजस्व संकलनमा वृद्धि गराएको छ।
Kamala Devi
Kamala Devi
7 May 2026, 7:37 pm १ मिनेट पढाइ
आकार:
Share:

पर्सा । मुलुककै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयमा झण्डै एक सातादेखि रोकिएको जाँचपास प्रक्रिया पुनः सञ्चालनमा आएको छ। आयातकर्ताले वस्तु तथा सामानको अधिकतम खुद्रा मूल्य (एमआरपी) आफैं घोषणा गर्ने र गोदाममा पुर्‍याएर एमआरपी तोक्ने कबुलियत गरेपछि बुधबारदेखि जाँचपास प्रक्रिया अघि बढेको हो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, आयातकर्ताले एमआरपी घोषणा गरेर गोदाममा सामान पुर्‍याएपछि मात्र बजारमा पठाउने गरी कबुलियत गरेपछि जाँचपास प्रक्रिया सुचारु भएको हो। यसअघि वैशाख १५ गतेदेखि २२ गतेसम्म आयातकर्ताले भन्सार जाँचपास प्रक्रियामा सहभागी नहुँदा मालवाहक सवारीसाधन रक्सौलतर्फ रोकिँदै आएका थिए।

“हामी भन्सार जाँचपासको प्रक्रिया गराउन तयार थियौं, तर आयातकर्ताहरू घोषणा प्रक्रियामा सहभागी नहुँदा रोकिएको थियो,” सूचना अधिकारी विष्टले भने, “अहिले केही समयका लागि कबुलियत गराएर जाँचपास प्रक्रिया अघि बढाउन उनीहरू तयार भएका छन्।”

एक साताको रोकपछि करिब ७५ करोडको राजस्व संकलन

भन्सार जाँचपास प्रक्रिया रोकिएका कारण दैनिक करिब ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको वीरगञ्ज भन्सार कार्यालयले बुधबार मात्रै करिब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। जाँचपास प्रक्रिया सुचारु भएसँगै राजस्व संकलनमा वृद्धि देखिएको छ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले हालको अवस्था एमआरपीको विषयमा अस्थायी समाधान मात्र भएको बताएका छन्। यो समस्याको दीर्घकालीन समाधानका लागि थप छलफल आवश्यक रहेको उनको भनाइ छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

Nmkhabar की मधेश प्रदेश संवाददाता। तराई क्षेत्रका राजनीतिक, कृषि र सामाजिक विषयमा जमिनी स्तरबाट रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार