वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार अघिल्लो आर्थिक वर्षको १० महिनामा छ खर्ब ९२ अर्ब ४३ करोड रुपैयाँको सामान आयात भएको थियो। यसरी हेर्दा चालु आवको १० महिनामा एक खर्ब दुई अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात वृद्धि भएको छ।
विष्टले चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा उल्लेख्य वृद्धि भएको बताए। तथ्यांकअनुसार, चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट एक खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ भित्रिएको छ।
त्यसैगरी, यस अवधिमा फलाम तथा फलामबाट बनेका सामानको आयात ६९ अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको छ। मेसिनरी तथा पार्टपुर्जाको आयात ५७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने भटमासको कच्चा तेलको आयात ५५ अर्ब सात करोड रुपैयाँ बराबरको भएको छ।
