वीरगन्जका सरकारी र निजी अस्पतालहरूमा तीन दिनदेखि आकस्मिकसहित सबै उपचार सेवा ठप्प छ। गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज २५ का राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि कुटपिट गरेको भन्दै चिकित्सकहरू हडतालमा उत्रेका हुन्।
चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै चिकित्सकहरू हडतालमा बसेका कारण अस्पतालहरूमा उपचारका लागि पुगेका बिरामीहरू अलपत्र परेका छन्। मंगलबार बिहान नारायणी अस्पतालमा उपचारका लागि पुग्दा डाक्टरहरूको हडताल लेखिएको ब्यानर झुन्ड्याइएको देखेर बिरामी र उनका आफन्तहरू निराश बनेका छन्।
नारायणी अस्पतालमा कार्यरत ४६ जना डाक्टरहरूले सामूहिक राजीनामा समेत दिएका छन्। चिकित्सक कुटपिट गर्नेलाई कारबाही नगरिएको विरोधमा उनीहरूले राजीनामा दिएको र अन्यले पनि राजीनामा दिने घोषणा गरेको नारायणी अस्पताल प्रशासनले जनाएको छ।
पर्साका राजनीतिक दलहरूले नारायणी अस्पतालको घटना सहमति र संवादबाट समाधान गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेस पर्साको वीरगन्ज स्थित पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले आन्दोलनरत चिकित्सक, नेपाल चिकित्सक संघ, नारायणी अस्पताल प्रशासन र स्थानीय प्रशासनसँग आपसी संवाद र सहमति मार्फत समस्याको समाधान खोज्न आग्रह गरेको हो।
बैठकमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका तुल्सा पौडेल, नेकपा एमालेका डा बिशवबर शर्मा, नेकपाका जय प्रकाश थारु, जसपाका रामनरेश यादव लगायत राजनीति दलका प्रमुख र प्रतिनिधिहरूको हस्ताक्षर भएको अपिलमा नारायणी अस्पतालमा गत शनिबार भएको तोडफोड र चिकित्सक माथि गरिएको कुटपिटको घटना प्रति चिन्ता व्यक्त गरिएको छ।
सर्वदलीय बैठकले नारायणी अस्पतालमा उत्पन्न विवादलाई थप जटिल बन्न नदिन वार्ता, संवाद र सहमति मार्फत समाधान खोज्नु पर्ने निष्कर्ष निकाल्दै ६ बुँदे अपिल सार्वजनिक गरेको छ। बैठकले उपचारका क्रममा मृत्यु भएका वीरगन्ज–२५ का ४५ वर्षीय राजकुमार पटेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गरेको छ।
त्यसैगरी, बैठकले नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राम तथा अन्य स्वास्थ्य कर्मी माथि भएको कुटपिट र दुर्व्यवहारको भर्त्सना गर्दै घटनामा संलग्न दोषीमाथि कानुन बमोजिम कारबाही गर्न तथा घाइते चिकित्सकको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेको छ। अस्पतालमा भएको तोडफोड र कुटपिटको घटनाको बारे सत्य तथ्य पत्ता लगाउन विज्ञको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही गर्न पनि सरकारसँग माग गरिएको छ।
यसै घटनालाई लिएर सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा आन्दोलनरत चिकित्सक र स्थानीय प्रशासन बिच भएको वार्ताका क्रममा प्रशासनिक पदाधिकारीबाट लोकतान्त्रिक मूल्यमान्यता र पदीय मर्यादा अनुकूल व्यवहार नभएको भन्दै पदीयको मर्यादा रहेर व्यवहार गर्ने आग्रह गरिएको थियो। चिकित्सकहरूले चिकित्सक कुट्नेलाई पक्राउ नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरुवा गराई दिने धम्की दिएपछि सुरक्षाकर्मीहरुसँग विवाद भएको थियो।
त्यही विवादलाई लिएर नेपाल चिकित्सक संघले नेपाल भरिकै उपचार सेवा बन्द गरेको छ। यता, नारायणी अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका राजकुमार पटेलका आफन्तहरूले मंगलबारबाट सडक अवरोध गरेर प्रदर्शन गरेका छन्। उपचारमा लापरबाही गर्ने चिकित्सकहरूलाई कारबाहीको माग गर्दै उनीहरूले परवानिपुर सुख्खा बन्दरगाह सडक खण्डको चण्डाल चौकमा सडक अवरोध गरेर प्रदर्शन गरेका हुन्।
