वीरगंज महानगर क्षेत्रका निजी विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विभिन्न शीर्षकमा चर्को शुल्क असुल्न थालेपछि अभिभावकहरू ठूलो आर्थिक दबाबमा परेका छन्। सरकारले अनावश्यक शुल्क नलिन निर्देशन दिए पनि प्रभावकारी अनुगमन नहुँदा विद्यालयको मनोमानी बढेको छ।
अभिभावकका अनुसार निजी विद्यालयले वार्षिक शुल्कबाहेक प्रविधि, स्मार्ट क्लास, परीक्षा, क्रियाकलाप, व्यवस्थापन र सुरक्षा शुल्कजस्ता विभिन्न बहानामा अतिरिक्त रकम असुल्छन्। कतिपय विद्यालयले भर्नाकै समयमा एकमुष्ट ठूलो रकम माग गर्ने गरेको आरोप छ।
विद्यालयबाट आउने शुल्कको विवरणले परिवारको आर्थिक अवस्था संकटमा पार्ने अवस्था सिर्जना भएको अभिभावकहरू बताउँछन्। शुल्कबारे स्पष्ट जानकारी माग्दा विद्यालय प्रशासनले चित्तबुझ्दो जवाफ नदिई झुलाउने गरेको गुनासो छ।
शिक्षा ऐनअनुसार विद्यालयले शुल्क वृद्धिअघि अभिभावकसँग छलफल गरी सहमतिमा मात्र शुल्क निर्धारण गर्नुपर्छ। स्थानीय तहलाई विद्यालयको शुल्क संरचनाको नियमित अनुगमन गरी नियमविपरीत शुल्क लिने संस्थामाथि कारबाही गर्न पनि निर्देशन छ।
तर वीरगंज महानगरपालिकासहित पर्साका अधिकांश स्थानीय तहले प्रभावकारी अनुगमन नगरेको अभिभावकहरूको आरोप छ। सरकारी निर्देशन कार्यान्वयन नहुँदा निजी विद्यालयहरू निर्बाध रूपमा अतिरिक्त शुल्क असुल्न उत्साहित भएका छन्।
महानगरपालिकाको शैक्षिक महाशाखाले निजी विद्यालयको शुल्कसम्बन्धी गुनासो बढेको स्वीकार गरेको छ। लिखित उजुरी प्राप्त भए आवश्यक अनुसन्धान गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने महाशाखाले जनाएको छ।
